सहकारी काण्डमा परेका लामिछानेले स्वार्थ बाझिने गरी गृह मन्त्रालय लिएपछि खरेलले रास्वपा छाडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रमेश खरेलले पार्टी परित्याग गरेका छन् ।

बुधबारबाट लागू हुने गरी खरेलले रास्वपा छाडेको जनाएका छन् । खरेल वैशाख १० गतेको उपनिर्वाचनमा रास्वपाको तर्फबाट बारा क्षेत्र नम्बर २ को उपचुनावमा उम्मेदवार बनेका थिए । चुनावमा खरेलको जमानत जफत भएको थियो ।

खरेलले केही दिनअघि स्वार्थ बाझिने गरी गृह मन्त्रालयको नेतृत्व सम्हालेको भन्दै पार्टी सभापति रवि लामिछानेको आलोचना गरेका थिए । त्यसपछि रास्वपाले खरेलसँग स्पष्टीकरण सोधेको थियो ।

गृहमन्त्री लामिछाने सहकारीको करोडौं रुपियाँ अपचलन गरेको अभियोगमा विवादमा परेका छन् । लामिछानेका विरुद्ध उजुरीहरू परेका छन् । लामिछानेको यो गतिविधिको खरेलले विरोध गरेका छन् ।

खरेलले अंग्रेजीमा राजीनामा पत्र लेखेर रास्वपालाई पठाएका छन् । खरेलले पत्रमा भनेका छन्, ‘तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु ।’

‘गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने समय आइपुगेको निर्णयमा पुगेँ’, खरेलले भने, ‘अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु ।’

‘यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन’, खरेलले भनेका छन् ।

Published : Wednesday, 2024 March 27, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया