प्रचण्डद्वारा ओली र लामिछानेसँग गोप्य परामर्श, यस्तो बन्न सक्छ समीकरण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभपाति रवि लामिछानेसँग भेटवार्ता र परामर्श गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले आइतबार राति ओली र लामिछानेसँग गोप्य वार्ता गरेको उच्च स्रोतले जनाएको छ । दाहाल, ओली र लामिछानेबीच शान्ति प्रक्रियासम्बन्धी विधेयकलाई टुङ्गोमा पुर्‍याएर नयाँ समीकरणसहितको सरकार बनाउनेबारेमा कुराकानी भएको बुझिएको छ ।

दाहाल, ओली र लामिछानेका बीच नयाँ समीकरणसहितको सरकार बनाउनेबारेमा सहमति बनेको माओवादी केन्द्र निकट उच्च स्रोतले जनाएको छ ।

एमालेका अध्यक्ष ओलीले माओवादीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने, राष्ट्रिय सभाको अध्यक्ष पद पनि माओवादीलाई दिने तथा सभापति लामिछानेलाई उपप्रधान र गृह मन्त्रालय दिनेबारेमा कुराकानी भएको बुझिएको छ ।

ओलीले प्रचण्डसँगको वार्ताका लागि महासचिव शंकर पोखरेल लगायतका दलका नेताहरुलाई लगेका थिए । प्रधानमन्त्री दाहालले वर्षमान पुनसहितका नेताहरुलाई राखेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा.प्रकाशशरण महतप्रति निकै असन्तुष्टि राखेको चर्चा छ । दाहालले अर्थमन्त्री डा.महतका विरुद्ध बोलेपछि एमालेका अध्यक्ष ओलीले पनि विरोध गरेका छन् ।

Published : Sunday, 2024 March 3, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया