जितपुरसिमराबाट ३५ किलो चरेशसहित दुई जना भारतीय नागरिक पक्राउ

वीरगञ्ज । प्रहरीले बारा जिल्लामा ३५ किलो लागुऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

जितपुरसिमरा उप–महानगरपालिका–२१ बाट लागूऔषध चरेश करिब ३५ किलोसहित २ जनालाई बुधबार बिहान पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाल रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको चरेश फेला पारेको थियो ।

प्रहरीले लागुऔषध चरेशसहित कार चालक साफिरर कारमा सवार मोहमदलाई पक्राउ गरेको थियो ।

उता, मोरङको विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७४ मिलिग्रामसहित सोही महानगरपालिका–४ बस्ने १९ वर्षीय सुजन उराउलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2024 February 14, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया