विवाहमा नाच्न नमानेपछि अभिनेत्री अमीषाविरुद्ध मुद्दा

मुम्बई । भारतीय एघार लाख रुपैयाँ लिएर कार्यक्रममा नआएर धोखा दिएको अभियोगमा झमेलामा परेकी बलिउड अभिनेत्री अमीषा पटेलले मुरादाबाद अदालतबाट अग्रिम जमानत पाएकी छिन् ।

ड्रीम भिजन इभेन्ट कम्पनीका सञ्चालक पवनकुमार वर्माले अमीषाविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

पवनले अभिनेत्री अमीषा, अहमद शरीफ, सुरेश परमार, राजकुमार गोस्वामीमाथि ११ लाख रुपियाँ ठगी गरेको आरोप लगाएका छन् ।

१६ नोभेम्बर २०१७ मा अमीषालाई विवाह समारोहमा नृत्य गर्न निम्तो दिइएको थियो । दिल्ली रोडमा रहेको होलिडे रिजेन्सी होटलमा आयुष अग्रवालको विवाह समारोहमा अमीषा पटेलले चार गीतमा नाच्नुपर्ने थियो ।

नृत्य गर्नका लागि अमीषालाई भारतीय ११ लाख रुपैयाँ अग्रिम दिइएको थियो । पैसा लिएपछि अमीषा विवाह समारोहमा आइनन् ।

अमीषालाई विवाह पक्षबाट दिल्लीको होटलमा बस्ने, बिहानको खाजा र खानाको व्यवस्था पनि गरिएको थियो । अमीषाका निजी सहायक सुरेश परमार र अहमद शरीफलाई पीआर कम्पनीका मालिक राजकुमार गोस्वामीमार्फत दश लाख रुपैयाँ दिइएको थियो । अमीषाले थप २ लाख रुपैयाँ मागेकी थिइन् ।

अमीषाविरुद्ध परेको ठगी मुद्दामा अदालतमा सुनुवाइ भइरहेको छ । अमीषाविरुद्ध वारेन्ट जारी गरिएको थियो ।

अभिनेत्री अमिषा २३ जनवरीमा मुरादाबाद अदालत पुगेकी थिइन् । अमीषाले अधिवक्ता अभिषेक शर्माको चेम्बरमा बसेर धरौटीका लागि फाइल तयार गरेका थिइन् ।

दुवै पक्षको बहस सुनेपछि अदालतले अमीषा पटेलको अग्रिम जमानत स्वीकार गरेको छ । अमीषाविरुद्धको मुद्दाको सुनुवाइ फेब्रुअरी ६ मा हुनेछ । एजेन्सी

Published : Sunday, 2024 February 4, 5:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया