शेरबहादुरद्वारा चार छोरीकी गर्भवती पत्नीको हत्या

गैडाकोट । नवलपर जिल्लामा ३३ वर्षीय पति शेरबहादुर लम्का मगरले गर्भवती पत्नी ३४ वर्षीया चनिसरा लम्का मगरको हत्या गरेका छन् ।

आइतबार बिहान १ बजे हुप्सेकोट गाउँपालिका– ६ बिरुखर्कमा शेरबहादुरले चनिसराको हत्या गरेका हुन् ।

चनिसरालाई सुतिरहेकै अवस्थामा कोदालो र खुर्पा प्रहार गरी शेरबहादुरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताएका छन् ।

चनिसराका चार छोरी छन् । पति–पत्नी र चार छोरीहरू एकै स्थानमा सुतिरहेका थिए । चनिसराको सुतेकै अवस्थामा शेरबहादुरले हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि शेरबहादुर पनि आत्महत्या गर्न घरदेखि बाहिर गएका थिए । आत्महत्या गर्न नसकेर घरमा फर्किएका बेला प्रहरीले शेरबहादुरलाई पक्राउ गरेको थियो ।

शेरबहादुरले पत्नी चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेका थिए । कोदालो र खुर्पा पनि बरामद भएको छ ।

आमाको हत्या भएको देखेपछि छोरीहरू रोएका थिए । त्यसपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए ।

शेरबहादुरले आफूले सपनामा श्रीमती र आफूलाई कसैले आक्रमण गरेको सपना देखेको तथा सपनामै बचाउन खोज्दा हत्याको घटना भएको प्रारम्भीक बयान दिएको प्रहरीले जनाएको छ । शेरबहादुरको टाउकोमा पनि सामान्य चोट लागेको छ ।

Published : Sunday, 2024 January 21, 2:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया