इन्टरपोलमार्फत प्रहरीले कतारमा बसेका मानिसलाई काठमाडौं ल्यायो

काठमाडौं । नेपाल प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति ४४ वर्षीय रजिन्द्र पासवानलाई कतारबाट पक्राउ गरेर ल्याएको छ ।

धनुषाको औरही गाउँपालिका–५ का पासवानलाई पक्राउ गरेर ल्याइएको प्रहरीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । पासवानविरुद्ध ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । पासवान फरार रहेका थिए ।

एनसीबी दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका पासवानलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।

पासवान लगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ«े बैंकको खातामा रहेको ९ लाख रूपियाँ अनाधिकृत रूपमा ट्रान्सफर गरेका थिए ।

उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डहरू मार्फत निकालेर प्रयोग गरेको र अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो ।

अन्तर्राष्ट्रियस्तरमा खोजतलासको लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा पासवानविरुद्ध रेड नोटिस जारी भएको थियो ।

नेपालमा अपराध गरेर बच्न विदेश भाग्ने परम्परा निकै बढेको छ । विदेशमा भागेर बसेका अपराधमा संलग्नहरूलाई प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरेर पक्राउ गरेर ल्याउन थालेको छ ।

विदेशमा बसेर नेपालमा अपराध गर्ने धुन्दुकारीहरूका पनि दिनगन्ती शुरु भएका छन् । प्रहरीले ती धुन्दुकारीहरूलाई पनि पक्राउ गरेर ल्याउने तयारी गरेको छ ।

Published : Monday, 2023 December 25, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया