गीत, संगीतको ट्रयाक बजाउन अनुमति लिनुपर्ने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग नगर्न आग्रह गरेको छ ।

मंगलबार प्रतिष्ठानले विज्ञप्ति जारी गरेर गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

अध्यक्ष रीता थापा मगरले गीतको म्युजिक ट्रयाक अनधिकृत रुपमा व्यावसायिक प्रयोग गरिएको गुनासो आएपछि अनुमति लिएर मात्रै देश तथा विदेशका सांगीतिक कार्यक्रममा प्रयोग गर्न आग्रह गरेकी छिन् ।

स्रष्टाको अनुमति विना प्रयोग गरिएको पाइएमा प्रचलित प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ को व्यवस्थाअनुसार सम्बन्धित अधिकारको धनीको माग बमोजिम असुलउपर, जरिवाना र दण्ड सजाय हुनसक्ने जनाइएको छ ।

मेला, महोत्सव, विदेशका सांगीतिक कार्यक्रमहरूमा अनुमति नलिएर जथाभावी गीत संगीतको ट्रयाक बजाउने कार्य गरेपछि प्रतिष्ठानले नयाँ नियम लागू गरेको छ । यो नियमले धेरैलाई असर पर्नेछ ।

Published : Tuesday, 2023 December 5, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया