ढोरपाटनमा हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार, भट्टचनद्वारा उदघाटन

पोखरा । गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघको आयोजनामा ‘प्रथम ढोरपाटन हाई अल्टिच्यूड तेक्वान्दो सेमिनार–२०२३’ शुरु भएको छ ।

बागलुङ जिल्लाको ढोरपाटनमा शुक्रबारबाट शुरु भएको सेमिनारको प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचनले उदघाटन गरेका छन् ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका सांसद भट्टचनले सेमिनारले खेलाडीहरूमा खेल क्षेत्रमा लाग्न हौसला प्राप्त हुने बताएका छन् ।

‘बागलुङको पर्यटकीय तथा ऐतिहासिकस्थल ढोरपाटनमा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद छ’, उनले भने, ‘यसले खेलाडीको मानसिक, शारीरिक तथा स्वास्थ्यका हिसावले सकरात्मक परिणाम ल्याउँछ ।’

सांसद भट्टचनले सेमिनार र प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन आयोजकलाई आग्रह गरेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले हाई अल्टीच्यूड तेक्वान्दो सेमिनारले खेलाडीहरूमा गुणात्मक परिवर्तन ल्याउने बताएका छन् ।

गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघका अध्यक्ष तथा नेपाल तेक्वान्दो महासंघका केन्द्रीय महासचिव घमबहादुर थापाको अध्यक्षतामा प्रतियोगिता भएको थियो ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यवहाक प्रमुख धनबहादुर कायत, नेपाल तेक्वान्दो महासंघका वरिष्ट उपाध्यक्ष बासुदेव भट्ट, गण्डकी प्रदेश आईटीएफ तेक्वान्दो संघका सदस्य विशाल बुढा लगायतको उपस्थिति रहेको थियो ।

शनिबारसम्म सञ्चालन हुने सेमिनारमा मार्सल आर्टसका पावर ब्रेकिङ, डेमोस्ट्रेसन, सेल्फ डिफेन्स, प्याट्रन्स, स्पेसियल टेक्निनिक विभिन्न विद्याहरूमा सहजीकरण गरिने संघका सचिव विशाल बुढा मगरले बताएका छन् ।

विभिन्न जिल्ला र प्रदेशबाट करिब ४०० खेलाडीको सहभागिता रहेको सेमिनारमा गण्डकी प्रदेश आईटिएफ तेक्वान्दोका प्रमुख प्रशिक्षक फारमबहादुर महत र नेपाल आईटीएफ तेक्वान्दो महासंघका केन्द्रीय सदस्य तथा रेफ्री समेत रहेका सह–संयोजक आकाशचन्द्र घर्ती मगरले सहजीकरण गरेका छन् ।

Published : Friday, 2023 November 24, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया