विषादी सेवनका कारण अभिनेत्री दीपाशाको मृत्यु

काठमाडौं । अभिनेत्री २८ वर्षीया दीपाशा बिसी ‘जलपरी’को विषादी सेवनका कारण मृत्यु भएको छ ।

बुधबार राति बिसीले बिषादी सेवन गरेका कारण अस्वास्थ्य भएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले बताएका छन् ।

एसपी ढुंगेलले भने, ‘दीपाशा बिसीले बिषादी सेवन गरेको र उपचारका क्रममा मृत्यु भएको भन्ने जानकारी आएको छ ।’

काठमाडौंको रानीबारीस्थित निवासमा दीपाशाले बिषादी सेवन गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।

दीपाशालाई असहज भएपछि जनिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो । सो अस्पतालले अर्को सुविधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउन रिफर गरेपछि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको आफन्तहरूले बताएका छन् ।

दीपाशालाई उपचारका क्रममा बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको नर्भिकका सीईओ अजय मिश्रले पत्रकारहरूलाई बताएका छन् ।

सुर्खेत जिल्ला स्थायी ठेगाना भएकी दीपाशाले मोडलिङबाट कलाक्षेत्रमा अगाडि बढेकी थिइन् ।

चलचित्र ‘बिरानो माया’, ‘चाल’, ‘दुलही रानी’ र ‘झेली’मा उनले अभिनय गरेकी छिन् । २०६८ मा रिलिज भएको ‘दुलही रानी’ दीपाशाको डेब्यु चलचित्र हो ।

दीपाशाले व्यूटीपार्लर पनि सञ्चालन गर्दै आएकी थिइन् । दीपाशालाई विगतमा आफ्नै महिला व्यावसायिक पार्टनरले धोका दिएर लाखौँ रकम ठगी गरेको चर्चा त्यस बेला चलेको थियो ।

Published : Thursday, 2023 November 9, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया