तेक्वान्दो संघद्वारा पलेशालाई नगदसहित सम्मान

काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ ।

शुक्रबार राजधानीमा नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् ।

टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ ।

लामालाई ७५ हजारसहित प्रशंसा पत्र तथा श्रेष्ठलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । पलेशाका बुवा प्रदीप र आमा मनीता पनि सम्मानित भएकी छिन् ।

एभरेष्ट तेक्वान्दो केयर्स फाउन्डेसन, युएसले पनि पलेशा र लामालाई नगदसहित सम्मान गर्यो। फाउन्डेसनका नेपाल प्रतिनिधि बलराम कार्कीले पलेशालाई ५० हजार र लामालाई २० हजार नगदसहित सम्मान गरेका छन् ।

अक्टोबर २२ देखि २८ तारिखसम्म चीनको हाङझावमा भएको एसियाली पारा खेलकुदको तेक्वान्दोतर्फ के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् ।

पलेशाले जितेको पदक नेपालले पारा एसियाली खेलकुदमा जितेको पहिलो पदक हो । कांस्य पदक भिडन्तमा पलेशा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।

Published : Friday, 2023 November 3, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया