नेपाल ट्वान्टी–२० विश्वकपमा छनोट, फाइनलमा प्रवेश

काठमाडौं । ट्वान्टी–२० विश्वकपमा छनोटमा नेपालसँग यूएई ८ विकेटले पराजित भएको छ ।

शुक्रबार कीर्तिपुरको क्रिकेट मैदानमा भएको खेलमा नेपालसँग यूएई पराजित भएको हो । ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको सेमिफाइनल खेल ८ विकेटले जित्दै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका लागि नेपाल छनोट भएको छ ।

१ सय ३५ रनको विजय लक्ष्य नेपालले १७ ओभरमा पूरा गरेको छ । आसिफ अविजित ६३ बनाउँदै नेपाललाई महत्वपूर्ण खेलमा विजय दिलाए । आसिफले ३९ बलमा आफ्नो चौथो अर्धशतक पूरा गरेका छन् । उनले कुल ५० बल खेली ६ चौका र २ छक्का प्रहार गरेका छन् ।

कप्तान रोहित पौडेलले अविजित ३५ रन बनाए । उनले २१ बल खेली ३ चौका र १ छक्का प्रहार गरेका छन् ।

कुशल भुर्तेल २ चौका प्रहार गरी ८ बलमा ११ रन बनाइ आउट भएका छन् । तेस्रो नम्बरमा पठाइएका गुल्शन झाले २४ बल खेली ३ चौका प्रहार गर्दै २२ रन बनाए । यूएईबाट निलान्श केस्वानी र बसिल हमिदले १–१ विकेट लिए ।

ट्वान्टी–२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनलमा पुग्ने टोली विश्वकपमा पुग्ने प्रावधान रहेको छ ।

अर्को सेमिफाइनलमा ओमानले बहराइनलाई १० विकेटले पराजित गरि नेपालसँगै विश्वकपमा पुगेको छ । १ सय ७ रनको लक्ष्य ओमानले १४.१ ओभरमै पूरा गरेको थियो ।

नेपालले दशकपछि ट्वान्टी–२० विश्वकप खेल्न लागेको छ । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो ।

Published : Friday, 2023 November 3, 6:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया