एन्टिम्याटर अपदार्थबारे वैज्ञानिकहरूलाई सफलता

लण्डन । ब्रह्माण्डको उत्पत्तिका बेला प्रचुर मात्रामा रहेको एन्टिम्याटर अपदार्थबारे वैज्ञानिकहरूले खोज गरेका छन् ।

एन्टिम्याटर भनेको हाम्रा ग्रह एवं ताराहरू बनेको म्याटर–भौतिक पदार्थको ठीक विपरीत रुप हो ।

करिब १३.८ अर्ब वर्षअघि ब्रह्माण्डको उत्पत्ति अर्थात् बिग ब्याङ्ग हुँदा म्याटर र एन्टिम्याटर बराबर मात्रामा उत्पन्न भएको मानिन्छ । अहिले म्याटर जताततै छ । एन्टिम्याटर भेट्टाउन कठिन छ ।

म्याटरलाई अझै सरल भाषामा बुझ्न हाइड्रोजनको सानो कण अथवा एटमलाई लिन सकिन्छ । हाइड्रोजन एटमको केन्द्रमा पोजेटिभ चार्ज भएको प्रोटोन हुन्छ । केन्द्रको वरिपरि नेगेटिभ चार्ज रहेको इलेक्ट्रोन घुमिरहेको हुन्छ । जसरी ग्रहको वरिपरि उपग्रह घुम्छन् ।

एन्टिम्याटरको हकमा ठीक उल्टो हुन्छ । हाइड्रोजन एटमको एन्टिम्याटर अथवा एन्टिहाइड्रोजन एटमको केन्द्रमा नेगेटिभ चार्ज रहेको प्रोटोन–एन्टिप्रोटोन हुन्छ भने केन्द्रको वरिपरि पोजेटिभ चार्ज भएको इलेक्ट्रोन–पोजिट्रोन घुमिरहेको हुन्छ ।

म्याटर र एन्टिम्याटर सम्पर्कमा आयो भने एकअर्कालाई नष्ट गर्दै शुद्ध ऊर्जा उत्पादन गर्छन् । पदार्थको ठीक उल्टो भएका कारण अपदार्थले गुरुत्वाकर्षण बलको विपरीत काम गर्नसक्छ भन्ने आकलन गरिएको थियो ।

गुरुत्वाकर्षण बलले अपदार्थलाई विकर्षण गर्थ्यो अथवा आफ्नो विपरीत दिशामा धकेल्थ्यो भने कुनै बलबिना नै उड्नसक्ने असम्भव अनन्त: गतिको मेसिन बनाउन सम्भव हुनसक्ने ठानिन्छ ।

स्विटरजरल्यान्डस्थित आणविक अनुसन्धानका लागि युरोपेली संगठन (सीईआरएन)का वैज्ञानिकले अपदार्थमा पनि पदार्थमा जस्तै गुरुत्वाकर्षण बल लाग्ने प्रमाणित गरेका हुन् ।

पदार्थ र तत्वको सबैभन्दा सानो अंश अथवा कण भौतिकीका लागि विश्वको सबैभन्दा शक्तिशाली अध्ययन सुविधा केन्द्रका रुपमा यो रहिआएको छ ।

करिब एक सय वर्षअघि अल्बर्ट आइन्स्टाइनले आफ्नो सापेक्षताको सामान्य सिद्धान्त–जेनरल थ्यौरी अफ रिलेटिभिटीमा एन्टिम्याटरमा पनि म्याटरजस्तै गुरुवात्वाकर्षण बल लाग्छ र यो पनि तल खस्नुपर्छ भनेका थिए ।

अहिले आइन्स्टाइनको उक्त सिद्धान्त प्रमाणित भएको छ । यसका लागि वैज्ञानिकहरुले हाइड्रोजन एटमको एन्टिहाइड्रोजन एटम बनाएका थिए ।

त्यसपछि ती हजारौँ एन्टिहाइड्रोजन एटमलाई एउटा बोटल वा कन्टेनरभित्र राखिएको नियन्त्रण गर्न सकिने म्याग्नेटिक फिल्ड–चुम्बकीय क्षेत्रभित्र राखिएको थियो ।

Published : Thursday, 2023 September 28, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया