जुनियर च्याम्पियनसिपमा सहभागी हुने पौडी टोलीलाई बिदाई

काठमाडौं । इजरायलको नेतन्यामा आयोजना हुने वर्ल्ड अक्वाटिक वर्ल्ड जुनियर स्विमिङ्ग च्याम्पियनसिप २०२३ मा सहभागी हुने नेपाली पौडी टोलीलाई बिदाइ गरिएको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले शुभकामनासहित बिदाइ गरेका छन् ।

सदस्य सचिव घिसिङ्गले खेलाडीले पुरानो इतिहासलाई हेरेर रमाउने नभइ आफैले नयाँ इतिहास कोर्नु पर्ने बताए ।

घिसिङ्गले खेलाडीहरूका लागि सहज बातावरण श्रृजना गर्न आफू हर समय लागि सहयोग गर्न तयार रहेको बताए ।

भदौ १८ देखि २३ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा सहभागी हुन जाने टोलीको व्यवस्थापकमा जेनीफर लामा र प्रशिक्षकमा पौडीका प्रमुख प्रशिक्षक शंकर कार्की रहेका छन् ।

खेलाडीहरूमा अजलकाजी ताम्राकार (५० मिटर बटरफ्लाई र फ्रिस्टायल), इरभिन श्रेष्ठ (१०० र २०० मिटर फ्रिस्टायल), अल्भिन महर्जन (५० मिटर बटरफ्लाई र १०० मिटर फ्रिस्टायल), उपास्ती महर्जन (५० र १०० मिटर ब्रेष्टस्ट्रोक), रोशा न्यौपाने (५० र १०० मिटर फ्रिस्टायल) र टिशा महर्जन (५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायल) रहेका छन् ।

बिदाइ कार्यक्रममा संघका अध्यक्ष अशोक बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । नेपाली टोली शनिबार बिहान ७ बजे इजरायलतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Published : Friday, 2023 September 1, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया