पाकिस्तानले दिएको लक्ष्य पूरा गर्न नसक्दा नेपाल पराजित

मुल्तान । नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ ।

बुधबार पाकिस्तानमा भएको क्रिकेट खेलमा ३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा निर्धारित ५० ओभर खेल्दै ६ विकेट गुमाई ३ सय ४२ रन बनाएको थियो ।

नेपालबाट आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कुशल भुर्तेलले पहिलो ओभरको सुरुका दुई बलमै शाहिन शाह अफ्रिदीलाई लगातार चौका प्रहार गरेका थिए । अफ्रिदीले पहिलो ओभरको अन्तिम दुई बलमा कुशल र कप्तानलाई आउट गरे ।

कुशलले लेग साइडमा गएको बललाई विकेटकिपरलाई क्याच दिन पुगे । रोहितले अफ्रिदीको बल ठम्याउन नसक्दा एलबीडब्लु आउट भए । आरिफ र सोमपालले चौथो विकेटमा ५९ रनको साझेदारी गरे । आरिफले ५ र सोमपालले ४ चौका प्रहार गरे । गुल्शनले १ छक्का प्रहार गरेका थिए ।

दीपेन्द्रसिंह ऐरी ३, कुशल मल्ल ६, तथा सन्दीप लामिछाने र ललित राजवंशी शुन्यमा आउट भए । करण केसी ७ रनमा अविजित रहे । लेग स्पिनर सदाब खानले ४ विकेट लिए । उनले ६.४ ओभरमा २७ रन खर्चे । अफ्रिदी र हरिस राउफले २–२ तथा नसिम शाह र मोहम्मद नवाजले १–१ विकेट लिए ।

नेपालले उत्कृष्ट सुरुआत गरे पनि त्यसको फाइदा उठाउन सकेन । नेपालले फितलो फिल्डिङ र अनुशाषित बलिङ गर्न नसकेपछि पाकिस्तानले विशेष गरी ब्याटरद्वय बाबर र अहमदले त्यसको भरमुर फाइदा उठाए । नेपालले फिल्डिङका क्रममा आधा दर्जन चौका छाड्न पुगेको थियो । बाबरले १ सय ५१ र अहमदले अविजित १ सय ९ रन बनाए ।

पाकिस्तानले अन्तिम ८ ओभरमा १ सय १८ रन प्रहार गरेको थियो । खेलको पहिलो ओभरमा फाखर जमानले सोमपाल कामीलाई २ चौकासहित ९ रन प्रहार गरेका थिए । सोमपाल र उनका ओपनिङ बलिङ जोडि करण केसीले राम्रो बलिङ गर्दै पुनरागमन गरेका थिए । पाँचौं ओभरमा सोमपालको बलमा आरिफ शेखले क्याच लिन नसक्दा इमाम उल हक जोगिएका थिए ।

आरिफका भाई विकेटकिपर आसिफ शेखले उत्कृष्ट डाइभिङ क्याच लिएपछि करण केसीले जमानलाई १४ रनमा आउट गरेका थिए । गुल्शन झाले डिप स्क्वायरमा फितलो फिल्डिङ गरेपछि बाबर आजमले आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका थिए । अर्को ओभरको पहिलो बलमै रोहितले मिड अफबाट सिधा थ्रोमा इमामलाई ५ रनमा रन आउट गरेका थिए ।

मोहम्मद रिजवान पनि रन आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा रनआउट गरे । रिजवानले कप्तान बाबरसँग तेस्रो विकेटमा ८६ रनको महत्वपूर्ण साझेदारी गरिसकेका थिए । रिजवानले ५० बल खेली ६ चौकासहित ४४ रन बनाए । सन्दीप लामिछानेले सल्मान अघालाई ५ रनमा आउट गर्दा पाकिस्तान २८ औं ओभरमा १२४–४ को स्थितिमा थियो ।

Published : Wednesday, 2023 August 30, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया