रोबर्टले एन्थोनीको मुक्काको प्रहार सहन सकेनन्, रिङमै ढले

लण्डन । ब्रिटिस मुक्केबाज एन्थोनी जोसुआले हेभिवेट भिडन्तमा फिनल्यान्डका प्रतिद्वन्द्वी रोबर्ट हेलेनियसलाई नकआउट गरेका छन् ।

शनिबार राति लण्डनमा भएको प्रतिस्पर्धामा ३३ वर्षीय बक्सर जोसुआले सातौँ चरणको खेलको शुरुमा प्रतिद्वन्द्वीमाथि दरिलो मुक्का प्रहार गरेका हुन् । जोसुआको प्रहारले ३९ वर्षीय हेलेनियसलाई नकआउट भएका छन् ।

अधिकांश बक्सिङ पारखी जोसुआको जितप्रति विश्वस्त थिएनन् । जोसुआले करिब ३० महिनापछि कुनै पनि प्रतिद्वन्द्वीलाई नकआउट गरेका हुन् ।

जोसुआले अब अमेरिकी मुक्केबाज डियोन्टी विल्डरसँग भिडन्त गर्नेछन् । विल्डरसँगको भिडन्तको बारेमा सोधिएको एक प्रश्नको जवाफमा जोसुआले ठट्टा गर्दै भनेका छन् ।

लामो समयपछि प्रतिद्वन्द्वीलाई नकआउट गरेपछि जोसुआ निकै भावुक बनेका छन् । प्रतिद्वन्द्वीलाई रिङमा ढालेपछि सबैभन्दा पहिले उनले विस्तारै मुस्कान छरे अनि रिङलाई घेरिएको डोरीमाथि उक्लिएर समर्थकलाई अभिवादन गरेका छन् ।

जोसुआले आफ्नो खेल जीवनमा हालसम्म २६ वटा जित हात पारेका छन् । त्यसमध्ये २३ प्रतिस्पर्धामा उनले आफ्ना प्रतिद्वन्द्वीलाई नकआउट गरेका छन् । तीन वटा प्रतिस्पर्धामा भने उनी आफ्ना प्रतिद्वन्द्वीसँग पराजित भएका छन् ।

Published : Sunday, 2023 August 13, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया