टाइटनिक हेर्न गएका ५ जनाको मृत्यु

लण्डन । एटलान्टिक महासागरमा टाइटनिक पानी जहाजको भग्नावशेष अवलोकन गर्न गएको पनडुब्बीमा सवार पाँच जनाको मृत्यु भएको छ ।

एक शताब्दीअघि डुबेको टाइटनिक जहाजको भग्नावशेष अवलोकनका लागि गएको टाइटन पनडुब्बीका चालकसहित सबै पाँच जनाको मृत्यु भएको अमेरिकी कोस्ट गार्डले पुष्टि गरेको छ ।

अमेरिकी कोष्ट कार्डका रियर एडमिरल जोन मोगरका अनुसार पनडुब्बी विस्फोट भएर टुक्राटुक्रा परेको अवस्थामा फेला परेको छ ।

पनडुब्बी सामुद्रिक सतहबाट ४ किलोमिटर गहिराइमा रहेको टाइटनिक पानी जहाजको भग्नावशेषबाट ४८ सय मिटर तल विस्फोट भएको अवस्थामा भेटिएको हो ।

सन् १९१२ मा २ हजार २ सय यात्रु सवार टाइटनिक जहाज क्यानडाको न्यूफाउन्डल्याण्डस्थित सेन्ट जोन्सबाट ७०० किलोमिटर दक्षिणको सामुद्रिक क्षेत्रमा दुर्घटना हुँदा एक हजार ५०० सय जनाको मृत्यु भएको थियो ।

जहाज दुर्घटनापछि समुद्रको ४ किलोमिटर गहिराइमा पुगेको थियो । शनिबार पाकिस्तानी मूलका बेलायती धनाड्य शहजादा दाउद, उनका छोरा सुलेमान दाउद, बेलायती धनाड्य हामिश हार्डिङ तथा फ्रान्सेली अन्वेषक पउल हेन्री नार्गेओलेट लिएर टाइटनिक एड्भेन्चर ट्रिपका प्रमुख एवम् पनडुब्बी चालक स्टकेन रुस समुद्रमा छिरेका थिए ।

झण्डै आठ घण्टामा टाइटनिकको भग्नावशेष अवलोकन गरेर फर्किनु पर्ने पनडुब्बी यात्रा सुरु गरेको डेढ घण्टामा सम्पर्कविहीन भएको थियो ।

त्यसपछि अमेरिका, फ्रान्स तथा बेलायतका विज्ञसहित अत्याधुनिक पनडुब्बी र विमान प्रयोग गरी खोजी सुरु गरिएको थियो ।
खोजीमा संलग्नले यसअघि सामुद्रिक गहिराइमा ठूलो विस्फोटको आवाज सुनेका थिए ।

Published : Friday, 2023 June 23, 1:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया