विद्यादेवी र ओलीको पालका ठूला काण्डहरु छानविन गर्न कांग्रेसका खतिवडाको प्रस्ताव, एमालेलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ठूला भ्रष्टाचार काण्डको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै खतिवडाले यती, ओम्नी, ७० करोड कमिशन काण्ड, बालुवाटार जग्गा प्रकरण र कोर टिम प्रकरणको छानबिन गर्नुपर्ने बताए ।

एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले ठूला ठूला काण्ड भएको थियो ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद खतिवडाले ठूला नेतासँग स्वास्थ्य र शिक्षा क्षेत्रका माफियाहरुसँग बाक्लो उठबस हुने गरेको बताएका छन् ।

खतिवडाले भने, ‘मैले सुनेको छु ठूला नेताहरुको गुड मर्निङ, गुड आफ्टरनून् र गुड नाइट शिक्षा र स्वास्थ्यका व्यापारीसँग हुने गरेको छ । यो अन्त्य हुनुपर्छ ।’

उनले पञ्चायत र बहुदलीय व्यवस्थाको अन्त्य भएर गणतन्त्र स्थापना हुँदासमेत शिक्षा ऐन संशोधन नहुनु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

‘पञ्चायत परिवर्तन भयो, बहुदल आयो, गणतन्त्र आयो । शिक्षा ऐन परिवर्तन हुन सकेको छैन’, खतिवडाले भने, ‘तीनवटा व्यवस्था परिवर्तन भयो तर शिक्षा ऐन परिवर्तन हुन सकेन ।’

खतिवडाले भ्रष्टाचार भनेको पैसामा मात्र नभई व्यक्तिगत आचरणसमेत भएको बताएका छन् । आचरण सबैभन्दा खराब हुने अनि भ्रष्टाचारको मात्र विरोध गरेर केही नहुने उनको भनाइ छ ।

खतिवडाले एमालेका अध्यक्ष ओलीतर्फ लक्षित गर्दै संसदलाई तीन घण्टासम्म पुराण सुनाउने थलो बनाउन नपाउने बताएका छन् ।

उनले भने, ‘सुनलाई पित्तल बनाएको मात्र होइन । अरुलाई दुई/तीन घण्टा पुराण सुनाउने परम्परा पनि अन्त्य हुनुपर्छ । म मात्र जान्ने अरु सबै उल्लु हुन् भन्ने काम अब यो रोष्ट्रमबाट नहोस् ।’

अर्थमन्त्री डा.प्रकाशरण महतले बजेटमा भ्यूटावर र रेलका योजना नरहे पनि त्यसको ठाउँमा प्रधानमन्त्री र मन्त्री भएका प्रभावशाली नेताका जिल्लाको मात्र नाम सुनिनु दु:खद् भएको बताएका छन् ।

‘प्रभावशालीका जिम्मामा अर्बौंको बजेट जाने तर, अरुमा नजाने । दादागिरीका भरमा मन्त्री र प्रधानमन्त्री भएकाको जिल्लामा मात्र बजेट जाने हो भने समानुपातिक विकास हुँदैन’, खतिवडाले भनेका छन् ।

सांसद खतिवडाले विद्यादेवी भण्डारी राष्ट्रपति भएका बेला जथाभावी सल्लाहकार नियुक्ति गरेर राज्यकोष दोहन गरेको बताएका छन् । भण्डारीले सल्लाहकारका नाममा दिइएको अनुदान फिर्ता हुनुपर्ने माग खतिवडाले गरेका छन् ।

ओली प्रधानमन्त्री हुँदा प्रधानमन्त्री कार्यालयलाई पार्टी प्यालेसजस्तो बनाइएको सांसद खतिवडाले बताएका छन् ।

‘हिजोका राष्ट्रपतिलाई सल्लाहकारका नामम दिइएको अनुदान फिर्ता गर्नुपर्छ’, खतिवडाले भने, ‘प्रधानमन्त्री कार्यालय कुनै पार्टीको पार्टी प्यालेसजस्तो हुन पुग्यो । अहिले त्यस्तो छैन । हुनु पनि हुँदैन ।’

आफू सरकारमा छँदा एउटा र सरकारबाहिर छँदा अर्कै खालका अभिव्यक्ति दिन छाड्न एमाले नेताहरुलाई खतिवडाले सुझाव दिएका छन् ।

कांग्रेसका सांसद खतिवडाले ओली सरकारको पालामा भएका ठूला काण्डहरुको छानविन गर्न प्रस्ताव गरेपछि एमालेका सांसदहरुलाई तनाब भएको छ ।

Published : Friday, 2023 June 9, 11:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया