को हुन् अनधिकृत भनिएका रामकृष्ण श्रेष्ठ ? अर्थमन्त्री डा.महतले सांसदहरुको चित्त बुझाइदिए

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आफ्नो ईमान्दारितामा प्रश्न नउठाउन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा सांसदहरुले बजेट निर्माण गर्ने क्रममा अनधिकृत मान्छे प्रवेश गरेर करको दर रेटको सूचना चुहाएको भनेर प्रश्न उठाएपछि डा.महतले बजेट बनाउने र करको दर रेटमा कुनै आशंका नगर्न आग्रह गरे । उनले भने, ‘इमान्दार भएर काम गर्न कति कठिन हुँदो रहेछ ? इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दो रहेछ ।’

‘एउटा पत्रिकाले एउटा न्युज पटक पटक दोहोर्‍याउँछ । र, त्यसैलाई हामी सत्य ठान्द छौँ । तर, वास्तविकता के हो भने यति पादर्शी ढंगबाट कुनै पनि प्रभावबाट मुक्त भएर मैले काम गरेको छु’, उनले भने, ‘म अर्थमन्त्री हुने दिनदेखि नै एउटा मनमा बाचा, प्रतिबद्धता गरेर कि म कुनै पनि खाले प्रभावबाट मुक्त भएर काम गर्छु भनेर प्रतिवद्धतासहित अफिसमा पशेको छु । त्यही प्रतिवद्धता बजेट निर्माण गर्ने क्रममा पनि पालना गरेको छु ।’

‘आज, भोलि म यो पदमा रहेसम्म, जिम्मेवारीमा रहेसम्म जिम्मेवारीलाई कर्तव्य निष्ठाका साथ पूरा गर्दछु । कुराको विश्वास दिलाउन चाहन्छु’, उनले भनेका छन् ।

‘बजेटको राति जेठ १४ गते राति के भयो ? को अनाधिकृत व्यक्ति प्रवेश गर्‍यो ? किन गरियो ? एउटा पत्रिकामा आयो’, उनले भने, ‘त्यसैलाई हवाला दिएर माननीयज्यूहरुले पनि प्रश्न उठाउनुभयो । त्यसको स्पष्टीकरण अर्थमन्त्रालयबाट विज्ञप्ति जारी भएको छ ।’

अर्थमन्त्री डा.महतले भने, ‘बजेट तर्जुमा दीग्दर्शन २०७५ आठौं संशोधनको परिच्छेद आठ (क)को बजेट तर्जुमामा संलग्न पदाधिकारी र गरिने प्रमुख कार्यसम्बन्धी व्यवस्था अन्तर्गत सिट नं. १५ बमोजिम राजश्वका दरहरु परिवर्तन, खारेजी तथा नयाँ प्रस्ताव गरि आर्थिक विधेयकलाई अन्तिम रुप दिन संलग्न हुनुहुने पदाधिकारी मन्त्री अर्थ, राजश्व सचिव, राजश्व महाशाखाका प्रमुख, भन्सार, आन्तरिक राजश्व विभागका महानिर्देशक, प्रमुख भन्सार, अन्तरिक राजश्व हेर्न सेक्टर मन्त्रालयका राजश्व महाशाखाका उपसचिवहरु रहने व्यवस्था भएको सोही अनुरुप आर्थिक विधेयक तर्जुमा गर्ने व्यवस्था छ ।’

‘हामीले यिनै उल्लेखित सदस्यहरु, पदाधिकारीहरु बसेर करका विषयहरुमा छलफल गर्‍यौं । केको आवश्यक्ता छ, कहाँ संशोधनको आवश्यक्ता छ, कहाँ खारेजीको आवश्यक्ता छ, कहाँ यथावत राख्न जरुरी छ, त्यसको निणर्य हामीले स्वतन्त्रपूर्वक र त्यसको आधार तर्कसहित र पहिला नै राजश्व परामर्श समिति बनेर विभिन्न सेक्टरको प्रतिनिधित्व गरेर बन्ने समिति हुन्छ’, उनले भनेका छन् ।

‘त्यसले पनि सुझाव प्रतिवेदन दिन्छ । देशैभरिबाट सुझाव आउँछ । कहाँ के भइरहेको छ ? र कस्तो खाले नीतिगत सुधारको आवश्यक्ता पर्छ भनेर भनेको हुन्छ । यी सबै खाले सल्लाह र सुझाव तथा आन्तरिक अध्यनको आधारमा यो निणर्य गर्ने व्यवस्था छ । कानून मन्त्रालयको प्रतिनित्व पनि हुन्छ’, उनले भनेका छन् ।

‘आर्थिक विधेयकलाई अन्तिम रुप दिइसकेपछि त्यहाँका सहसचिव, उपसचिव, विभागका महानिर्देशक, कानून मन्त्रालयको सचिव नै आउनुभयो । कहाँ मिल्या छ, मिल्या छैन, कानूनी रुपमा छ कि छैन ? त्यसको चेकजाँच गरिसकेपछि राजश्व सचिव र अर्थ सचिवले प्रमाणित गर्ने व्यवस्था छ’, उनले भनेका छन् ।

‘प्रमाणित भएपछि १५ गते बिहान छपाइमा जानुपर्छ । छपाइमा तयार भएपछि संसदमा बजेट प्रस्तुत हुन्छ । ५ सय पेजको सबै कुरा सम्मिलित भएको हुन्छ । छोटो समयमा फोन अफ गरेर राति त्यो काम गरिन्छ । निणर्य गर्ने ठाउँमा निणर्यभन्दा अरु केही हुनै सक्दैन’, उनले भने, ‘निणर्य भइसकेपछि त्यसलाई व्यवस्थित गर्न टापइ गर्न पर्‍यो, इन्ट्री गर्नुपर्‍यो, यो सब गर्नको लागि सहयोगी चाहिन्छ ।’

डा.महतले भने, ‘यो सहयोगी लिने क्रममा म आउनुभन्दा अगाडि नै नियुक्ति रामकृष्ण श्रेष्ठजीले प्राप्त गरिसक्नु भएको थियो । उहाँले ३०औँ वर्षदेखि यहि काम गर्दै आउनुभएको थियो । यसमा उहाँ दक्ष मानिनु हुन्छ । अनुभवी, दक्ष र इमान्दार भनेर रिकक्नाइज व्यक्तित्व हुनुहुन्छ । मेरो व्यक्तिगत रुपमा चिनजानी पनि थिएन । उहाँको काम भनेको सम्बन्धित आधिकारिक व्यक्तित्वहरुसँग, आधिकारिक व्यक्तित्वहरुले आधिकारिक व्यक्तिहरुमा निणर्य भएको करका दरदेखि लिएर संशोधन आदि इत्यादि जे छ त्यो निणर्य प्रक्रियामा बसेका पदाधिकारीको आदेशमा यो यो भर्नुस् भनेर भर्नको लागि उहाँ वर्षौदेखि यो काम लगातार गर्दै आउनुभएको छ ।’

उनले भने, ‘त्यसै प्रयोजनको लागि सायद मभन्दा अगाडिको अर्थमन्त्रीज्यूले पनि त्यहाँको आवश्यक्ता छभनेर नै उहाँलाई नियुक्ति गर्नुभयो । यो विषयसँग विज्ञता भएको हुनाले उहाँलाई गरियो र उहाँ आधिकारिक कर्मचारीकै रुपमा सहयोगीको भूमिका निर्वाह गर्नुभयो । यो निणर्य प्रक्रियामा उहाँ हुने कुरै भएन । गोप्य निणर्य गर्ने प्रक्रिया र ठाउँमा उहाँ कहिँ हुनुहुन्न ।’

‘निणर्य गरिसकेपछि निणर्य प्रक्रियामा बसेका पदाधिकारीको उपस्थितिमा उहाँकै निर्देशनमा उहाँले इन्टर गर्ने काम मात्रै हो । हामी सबैलाई थाहा छ हरेक अफिसमा मन्त्री सचिव आफैले टाइप गर्न बस्दैन । यसलाई अनाधिकृत मान्छे बस्यो’, डा.महतले भने, ‘बाहिरबाट आयो । त्यसैले सम्पूर्ण चलखेल गर्‍यो भन्ने जस्तो भाष्य प्रयोग गरेर नियोजित रुपमा गरिदियो भने त्यो नै सत्य हुने ? हामी सबै असत्य ? हामी खाली झुठा र नाराम्रा काम गर्न बसेको हो ? त्यो त हुन सक्दैन । कसैले लेखिदियो उ चाहिँ सत्य भयो ।’

उनले भने, ‘उसले गरेको चाहिँ सत्यमाथि सत्य भयो । जो हामी जिम्मेवारी लिएका छौँ कशम खाएका छौँ संसदका सामुन्नेमा उभिएर यो कुरा मैले भनिरहेको छु । इमान्दारितामा एक ईन्च, एक रौँ पनि यता उता हल्लिएको छैन । त्यही भएर भेष्टेड ईन्ट्रेष्टहरु जसको निजी स्वार्थ छ ती निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । कुरा यही हो । योभन्दा अर्को कुरै छैन ।’

अर्थमन्त्री डा.महतले राजश्व उठाउने बहानामा कागती निचुरेको जस्तो निचुरेर काम गर्न नहुने बताए । उनले इलेक्ट्रिक गाडीको राजश्वका विषयमा अध्ययन र अनुसन्धान गरेर ल्याइएको बताएका छन् । उनले ठूलो घरानीयका व्यापारीलाई पनि इलेक्ट्रिक गाडीमा गरिएको कर व्यवस्थाबाट अन्याय भएको समेत बताएका छन् ।

Published : Tuesday, 2023 June 6, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया