दुर्घटनामा मृत्यु भएका क्याप्टनले पोखरा एयरपोर्टबारे यस्तो भनेका थिए, प्रदीपको ठूलो लापरबाही

काठमाडौं । दुर्घटनामा निधन हुनुभन्दा अगाडि दिएको एउटा अन्तर्वार्तामा यती एयरलाईन्सका क्याप्टन स्व.कमल केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अफ्ठ्यारो रहेको बताएका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि यती एयरलाइन्सको जहाजको छेउमा उभित्रएर केसीले एबीसी टेलिभिजनसँग अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ताका क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा क्याप्टन केसीले डाँडाकाँडा भएका कारण अन्तर्राष्ट्रिय उडानलाई समस्या हुने बताएका छन् ।

उनले भनेका छन्, ‘अन्तर्राष्ट्रियमा यति साह्रो डाँडाकाँडा हुँदैन । यहाँ डाँडाकाँडा धेरै छ । अरु एयरपोर्टभन्दा यहाँ गाह्रो छ ।’

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएको घटना छानविन गर्न बनेको समितिले स्व.केसीको अन्तर्वार्तालाई निकै विचार गरेर सुन्नुपर्छ । केसीले भनेको ‘अरु एयरपोर्टभन्दा यहाँ गाह्रो छ’ भन्ने शब्दलाई ध्यान दिनुपर्छ । यो कुरा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले किन ध्यान दिएनन् । कि बेवास्ता गरे ? यसको जवाफ महानिर्देशक अधिकारीसँग लिनुपर्छ ।

‘रनवेको लम्बाई पनि यहाँ ८ हजार मात्रै छ । काठमाडौंको १० हजारभन्दा बढि छ’, केसीले भनेका छन्, ‘वरिपरीको डाँडाकाँडा अग्लो छ ।’

उनले भनेका छन्, ‘आफ्नो देशको, आफ्नो पोखरा एयरपोर्टमा ल्याण्ड गर्न पाउँदा निकै खुसी लागेको छ ।’

तत्कालीन समयमा केसीले भनेका थिए, ‘नयाँ एयरपोर्टमा निकै खुसी लाग्यो । नयाँ ठाउँमा ल्याण्ड गर्दाखेरी खुसी लाग्यो ।’
‘नयाँ एयरपोर्ट भैरहवामा पनि ल्याण्ड गरेको थिएँ, यहाँ पनि ल्याण्ड गरेँ’, केसीले भनेका छन् ।

केसीले रात्रिकालीन उडान गर्न पनि सम्भव रहेको बताएका थिए ।


यती एयरलाइन्सको एटीआर विमान उडाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दुई हप्तापछि पोखरामा अवतरणका क्रममा दुर्घटनामा परेर माघ १ गते क्याप्टन केसीको मृत्यु भएको थियो । केसीसँग चालक दल र यात्रुसमेत ७२ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हतार हतारमा चाकडी गर्न र चीनलाई खुसी बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गराएका थिए । उद्घाटन हुनेवित्तिकै यतीको ठूलो जहाज दुर्घटना भयो ।

संयोगनै मान्नुपर्छ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख प्राधिकरणका अहिलेका महानिर्देशक अधिकारी थिए । अधिकारीको लापरबाहीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रिठेपानीको डाँडा समयमा कटान हुन सकेन । विमानस्थल नजिकै रहेको फोहर पनि व्यवस्थापन हुन सकेको छैन् ।

चीनसँग मिटर व्याजमा पैसा लिएर बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा धेरै आशंकाहरू उब्जिएका छन् ।

पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना हुँदा पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणका महानिर्देशक अधिकारीलाई निलम्बन गरेर बयान लिनेसम्मको हिम्मत गरेन । अधिकारी अहिले छाती फुलाएर हिँडेका छन् ।

लिम्बन गरेपछि अधिकारीलाई छानविन समितिमा बोलाएर बयान लिनुपर्ने माग सर्वसाधारण र कर्मचारीहरूको छ ।

एटीआर जहाज पहिलो पटक दुर्घटना भएको छ । दुर्घटनामा एकै पटक ७२ जनाको ज्यान गएको छ । दुर्घटनाले पोखराको पर्यटन व्यवसायलाई ठूलो असर पारेको छ । दुर्घटनाको जिम्मेवारी प्राधिकरणका महानिर्देशक अधिकारीले लिनुपर्छ ।

सरकार पनि महानिर्देशक अधिकारीसँग डराएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि अधिकारीविरुद्ध भ्रष्टाचारका उजुरीहरूले दराजहरू भरिएका छन् । तैपनि कसैको ध्यान गएको छैन ।

क्याप्टन केसीको भनाइका बारेमा प्राधिकरणका महानिर्देशक अधिकारीले समयमा ध्यान दिएको भए ठूलो दुर्घटना हुने थिएन ।

Published : Saturday, 2023 February 4, 7:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया