एमालेका नेता पन्त पक्राउ, छुटाउन बालकोट पुगे महेश बस्नेत

काठमाडौं । सत्तारुढ एमालेको भ्रातृ संगठन ‘नेपाल ट्रेड युनियन महासंघ’का केन्द्रीय सचिव रमेशप्रसाद पन्त उर्फ तारानिधि पन्त पक्राउ परेका छन् ।

सचिव पन्तलाई प्रहरीले १० लाख रुपियाँ नक्कली नोटसहित पक्राउ परेको हो ।

पन्तलाई सर्लाहीको सीमा क्षेत्रमा नक्कली नोट कारोबार गर्नेहरूसँग कनेक्सन देखिएपछि पक्राउ गरिएको थियो ।

सर्लाहीको नेपाल–भारत सीमामा नक्कली नोट कारोबारको डिल भइरहेको अवस्थामा ४ माघ, २०७९ मा १० लाखसहित पन्तलाई पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरिएको बताएका छन् ।

एमालेका नेता पन्तसहित सीमा क्षेत्रमा शंकास्पद नक्कली नोट कारोबारमा अरु केही व्यक्ति पनि पक्राउ परेका छन् ।

नक्कली नोट १० लाखसहित पक्राउ गरिएको विषयमा भने एसपी सुवेदीले खुलाउन चाहेनन् ।

एमालेका नेता पन्तलाई शुक्रबार म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

नक्कली नोट कारोबारमा संलग्न पन्तलाई छाड्न एमालेका नेताहरूले प्रहरीमाथि दबाब दिइरहेको छ ।

एमालेले नेता पन्तलाई छुटाउन र नक्कली नोट काण्ड लुकाउन ठूलै हर्कत गरेको छ ।

उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले नक्कली नोट कारोबारमा संलग्न पन्तलाई कडा कारबाही गराउने हुन् कि एमालेको दवावमा लत्रिने हुन् हेर्न बाँकी छ ।

पक्राउ परेका नेता पन्तले एमाले नेता महेश बस्नेतमार्फत अध्यक्ष खड्गप्रसाद ओली, नेता विष्णु रिमालसँग हारगुहार गरिरहेका छन् ।

पन्त माओवादी २०६२–०६३ मा शान्ति प्रक्रियामा आएपछि क्यासिनोहरूबाट असुली गरी अकूत सम्पत्ति आर्जन गरेका विवादित पात्र हुन् ।

बाबुराम भट्टराईको निकट भन्दै उनी धेरै संदिग्ध गतिबिधिमा संलग्न भएको गुनासो आएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले कारबाही गरेको थियो ।

महासंघले कारबाही गरेपछि पन्तले महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल(हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए ।

रमेश भन्ने तारानिधि पन्त, ईन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदीप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेकोमा विपक्षी नेपाल सरकारले २०६९ साउन २ मा मुद्दा फिर्ता लिन निर्णय गरेको थियो ।

पन्त २०७० एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई जिफन्टको सचिवको जिम्मेवारी दिएको थियो ।

Published : Sunday, 2023 January 22, 12:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया