दुईतिहाई बहुमत हुँदा संसद विघटन गर्नेहरुलाई मत माग्ने अधिकार छैन : खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले झण्डै दुईतिहाईको बहुमत हुँदा पनि सरकार चलाउन नसकेर दुई पटक संसद विघटन गर्नेहरु जनताका बीच भोट माग्न पुनः आएको बताएका छन् ।

आइतबार ओखलढुंगाको सुनकोशी गाउँपालिकास्तरीया कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खतिवडाले बहुमत पाउँदा पनि सरकार चलाउन नसक्नेहरुलाई जनताले मतदान गर्न नहुने बताए । जनताको मतको कदर गर्न नसक्नेहरुलाई पुनः जनतासँग मत माग्ने अधिकार नरहेको खतिवडाले बताएका छन् ।

एमालेले संसद विघटन गर्नेदेखि संसदलाई सहज रुपमा कहिल्यै पनि चल्न नदिएको उनले बताएका छन् ।

ओखलढुंगामा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका खतिवडाले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पश्चगामी राप्रपा लगायतका दलसँग गठबन्धन गरेर गठबन्धनको उपहास गरेको बताएका छन् ।

‘ओलीको गठबन्धनभन्दा सत्तागठबन्धन सबै दृष्टिले अगाडि छ’, खतिवडाले भने, ‘२०७४ सालयता ओखलढुंगामा एउटा मात्र विकासको ठूलो आयोजना आएको छैन ।’

उनले भने, ‘मेरो पहलमा वडाहरुमा १०औं करोडका विद्यालय भवन बनेका छन् । २७ हजारभन्दा बढि निजी घर बनाउन प्रतिघर ३ लाख अनुदान प्राप्त भयो । भूकम्प प्रभावित जिल्लामा छुटेको भए संभव थिएन । म आफैले प्रयास गरेर प्रभावित १३ जिल्लामा समावेश गरेको हो ।’

‘संसद जो पनि हुन्छ । तपाईहरुका कुरा केन्द्रमा काम गर्न सक्ने तपाईको भावना बुझ्न सक्नेलाई चुनेर पठाउनु होस्’, खवितडाले भनेका छन् ।

‘जनताको वीचमा एउटा कुरा बोल्ने संसदमा जाँदा अर्काे कुरा गरेको साथीहरु देखेका छौं’, उनले भने, ‘साथीहरु रेल, घरघरमा ग्यास पाइप र पानी जाहाजका कुरा गर्छन् । रेल कता गयो ? घरघरमा ग्यासको पाइप आयो आएन ? पानी जहाज आएको छ कि छैन ?’

उनले भने, ‘हामी नहुने कुरा बोल्दैनौं । बोलेको कुरा पूरा गरेर छाड्छौं । हामीले ६५ वर्षमाथिका नागरिकलाई जेष्ठ नागरिक भत्ता दिने घोषण गरेका थियौं । यो पटक ६८ माथिका नागरिकका लागि भत्ता दिन शुरु भएको छ । केपी ओली आफैले यसको विरोध गरिरहेका छन् ।’

नेता खतिवडाले भने, ‘हामीले संकल्प पत्रमा ६५ वर्षमाथिका जेष्ठ नागरिक भत्ता आगमी वर्षबाट पूरा गर्नेछौं । सुत्केरी महिलालाई ५ हजार दिने पद्धति शुरु गरेका छौं । २५ जिल्लाबाट विस्तार गरी आगमी वर्ष यो जिल्लामा पनि लागू गराउनेछौं ।’

‘७३ वर्ष पुगेका जेष्ठ नागरिक र ३ वर्षमुनिका बालबालिकाहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउने छौँ’, उनले भने, ‘सत्तागठबन्धनलाई संघ र प्रदेश १ मा कांग्रेस र प्रदेश २ मा गबन्धनका उमेरदवार माओवादी नेता बाबुराम गौतमलाई भोट दिन आग्रह गर्दछु ।’

उनले भने, ‘विचार मिलेरभन्दा पनि देशका लागि संविधान रक्षा गर्न अग्रमी कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेर हामी निर्वाचन आएका छौं ।’

‘संविधान सभामा ५ वर्ष पाएको सुविधा गाउँको विकासमा खर्चेको छु । ओखलढुंगाको विकासका योजनाहरु कि बलबहादुर राईले शुरु गरेँ कि मैले नै गरेको छु’, उनले भने, ‘ती अधुरा काम पूरा गर्न संकल्प गरेर आएका छौं । गठबन्धनका हामी सबै एक छौं । कसैलाई पनि कम नगरी मतदान गर्न आग्रह गर्दछु ।’

कांग्रेस नेता खतिवडाले भने, ‘कमलजीको कुरामा सहमत छु । वडाहरुमा कम्तिमा ५० का दरले मत बढाउन लग्नु हुन अनुरोध छ । तपाईहरु लाग्नु भयो भने हामी ३७५० मत बढाउन सक्छौ ।’

उनले भने, ‘मेरो १ भोट हो । हामी सबैको भोटले जित्ने हो । म भाषण गर्न आएको हैन । आषिश माग्न आएको छु ।’

‘एमालेले जिते बापत ओखलढुंगाले न विकास पायो, न निकास पायो । त्यसैले अब गठबन्धनको विकाल्प छैन भन्नेमा ढुक्का हुनुहोस्’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

खतिवडाले सत्तागठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन सबैसँग अपील पनि गरेका छन् ।

Published : Sunday, 2022 October 30, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया