‘रुख’मा मतदान गरेर विजयी बनाउन प्रदीप पौडेल र भैरव सापकोटाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका नेता भैरव सापकोटाले चुनाव चिन्ह रुखमा मतदान गरेर कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन अपील गरेका छन् ।

काठमाडौंको क्षेत्र नं. ५ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा उम्मेदवारी दिएका कांग्रेस नेता सापकोटाले संविधानको रक्षाका लागि कांग्रेसलाई मतदान गरेर जिताउन आग्रह गरे ।

बिहीबार काठमाडौंको धुम्बाराहीमा आयोजित सत्तागठबन्धनका दलहरूको कार्यक्रममा बोल्दै सापकोटाले काठमाडौं–५ का कांग्रेसका उम्मेदवारहरूलाई रुखमा मतदान गरेर विजयी बनाउन आग्रह गरेका हुन् ।

काठमाडौं–५ मा प्रतिनिधि सभातर्फका उम्मेदवार कांग्रेसका नेता प्रदीप पौडेलले कांग्रेसले मात्रै मुलुकको रक्षा गर्न सक्ने बताए । उनले संविधानको रक्षा र विकासका लागि कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न उनले आग्रह गरे ।

काठमाडौं–५ मा प्रतिनिधि सभा र प्रदेश सभाका दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएको छ ।

प्रतिनिधि सभातर्फ कांग्रेसका नेता प्रदीप पौडेलले उम्मेदवारी दिएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा भैरव सापकोटा र २ मा कांग्रेसका श्यामबहादुर खड्काले उम्मेदवारी दिएका छन् ।

सत्तागठबन्धनको चुनावी प्रचारअन्तर्गत बिहीबार संयुक्त रुपमा कार्यक्रम राखिएको थियो । कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2022 October 20, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया