देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेका ओली उनैले गराउन लागेको चुनावमा भाग लिँदै

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले ५ वर्ष अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेर होच्याएका थिए ।

ओलीलाई जवाफ दिँदै देउवाले ‘ज्यातिषीले अझै सात पटक प्रधानमन्त्री भनेका छन्’ भनेर जवाफ दिएका थिए । नभन्दै ओलीले देउवालाई ५औँ पटक प्रधानमन्त्री बन्नबाट रोक्न सकेनन् । निर्वाचनपछि देउवा छैटौँ पटक प्रधानमन्त्री बन्ने पक्का जस्तैछ ।

एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका कारण २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कम्युनिस्टलाई जनताले झण्डै दुईतिहाई बहुमत दिएका थिए ।

ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र समृद्धिका नाममा मत मागेका थिए । मतदाताले पनि दिल खोलेर मतदान गरेपछि उर्लिएका ओलीले देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्न भ्याए ।

बिडम्बना ओली अहिले त्यही देउवाले गराउन लागेको निर्वाचनमा ५ वर्षपछि भाग लिँदैछन् । देउवाले ओलीलाई कठोर बचन लगाएका छैनन् । देउवा निकै संयमित राजनेता हुन् ।

ओलीले ५ वर्ष अगाडि देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री भनेको कुरा कांग्रेसका नेता कार्यकर्ताले अहिले आएर झलझली संझिएका छन् ।

ओलीले त्यस बेला कांग्रेसलाई २५ वर्षसम्म सत्तामा आउन नसक्ने घोषणा गरेका थिए ।

यद्यपि, ओलीले तीन वर्ष पनि राम्रोसँग सरकार चलाउन सकेनन् । आफ्नै झण्डै दुईतिहाईको बहुमत पनि बचाउन सकेनन् । आफै अध्यक्ष रहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टीलाई पनि बचाउन सकेनन् ।

ओलीले एमालेलाई पनि दुई टुक्रा बनाएर छाडे । सरकार र दुई वटा कम्युनिस्ट पार्टी फुटाएका ओलीले सत्ता चलाउन नसकेर बीच बाटोमा देशलाई अलपत्र पारेर भागेका छन् ।

ओलीले देश चलाउन नसकेपछि देउवाले मुलुक चलाउनुपरेको छ । त्यही देउवाको नेतृत्वमा स्थानीय तहको निर्वाचन सफलता पूर्व सम्पन्न भएको छ ।

एमालेले सत्ता चलाउन नसक्ने भएपछि मतदाताहरूले मंसिर ४ गतेको निर्वाचनमा कांग्रेसलाई जिताउँछन् वा एमालेलाई हेर्न बाँकी छ । काम गर्न नसक्ने दलका उम्मेदवारहरूलाई जिताउनुको कुनै अर्थ रहँदैन । बरु कांग्रेसलाई जिताएर सत्ता चलाउन दिएपनि हुन्छ ।

मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुन लागेको छ । धमाधम निर्वाचन आयोग तयारी गरेको छ । सरकारले पनि आयोगलाई सहयोग गरेको छ । सुरक्षा निकायले निर्वाचनको सुरक्षाको सबै तयारीहरू गरिरहेको छ ।

Published : Wednesday, 2022 October 19, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया