सन्दीप लामिछाने कहाँ लुकेर बसेको थिए ? आत्मसमर्पण होइन, डिपोट हुने डरले नेपाल आएको खुलासा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अमेरिकामा पक्राउ परेर डिपोट हुने डरले सिधै नेपाल आएको खुलासा भएको छ ।

जमैकामा चलिरहेको क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको बताएका लामिछाने एक महिनादेखि गायब भएका थिए ।

नेपाल प्रहरीले लामिछानेलाई पक्राउ गर्न डिफ्यूजन नोटिस जारी गरेको थियो । त्यसपछि लामिछानेलाई करीव दुई सय देशका प्रहरीले पक्राउ गरेर नेपाल पठाउन खोजी गर्न थालेका थिए ।

लामिछानेविरुद्ध प्रहरी वृत्त, गौशालामा भदौ २१ ग्ते १७ वर्षीया किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।

लामिछानेलाई पक्राउ गर्न जाहेरी परेको दुई दिनभित्रै प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

लामिछाने बिहीबार अमेरिकाबाट नफर्किएको भए दुई साताभित्र डिपोर्ट भएर नेपाल आउने थिए । लामिछाने एक महिनासम्म सम्पर्कविहीन रहेका थिए ।

लामिछानेले जमैकाबाट सिधै अमेरिका पुगेको अनुसन्धानका क्रममा खुलेको एक उच्च प्रहरी अधिकारीले बताएका छन् । अमेरिकामा लुकेर बस्ने योजना बनाएका लामिछानेले ईन्टरपोलले पक्राउ गरेर नेपाल डिपोट गर्ने थाहा पाएपछि बिहीबार नेपाल फर्किएर प्रहरीसमक्ष आत्मसमर्पण गरेको खुलेको छ ।

ईन्टरपोलको नेश्नल कन्ट्रोल ब्यूरो (एनसीबी), काठमाडौंको अनुरोधमा इन्टरपोल हेडक्वार्टरले डिफ्यूजन नोटिस जारी गरेपछि करीव दुई देशका प्रहरीसमक्ष लामिछानेबारे सूचना पुगेको थियो ।

उनीसँग अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको भिसा थियो । सोही भिसालाई आधार मानेर प्रहरीले आफूलाई केन्द्रित बनाएर अनुसन्धान अगाडि बढाएको थियो ।

लामिछानेलाई अमेरिकाको फेडरल ब्युरो अफ इन्भेटिगेसन (एफबीआई)ले रेखाङ्कन गरेर निगरानी बढाएको थियो ।

एफबीआईले लामिछानेलाई फ्लोरिडास्थित एक होटलमा बसेको सूचना नेपाल प्रहरीलाई पठाएको थियो ।

एफबीआईले लामिछानेको गतिविधिबारे निगरानी बढाउन थालेको थियो । एफबीआई आफ्नो पछाडि लागेको थाहा पाएपछि लामिछाने झस्किएका थिए ।

लामिछानेमाथि लागेको अभियोग पुष्टि भएमा बलात्कारको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ ।
मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ ।

Published : Friday, 2022 October 7, 1:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया