देउवा सहमतिका लागि निरन्तर प्रयासरत, गगन–शेखरद्वारा असहयोग, ओलीसँग किन गोप्य भेट ?

काठमाडौं । कम्युनिस्टहरूलाई मिलाएर आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टीभित्रको विवाद मिलाउँदैन भन्ने आरोप आफै खण्डित भइरहेको छ ।

सभापति देउवाले कांग्रेसलाई बहुमतसहित मंसिरपछिको एकल सरकार बनाउने योजना र तयारी गरिरहेका छन् । यस्तो अवस्थामा देउवाले पार्टीभित्रकै विवाद मिलाउँदैन भन्नु गलत र राजनीतिक पूर्वाग्रहीभन्दा अरु केही होइन ।

कांग्रेसले हतार/हतारमा निर्वाचन आयोगलाई बुझाएको ‘रफ’ सूचीलाई लिएर महामन्त्री गगन थापा र नेता शेखर कोइराला समूहबाट भइरहेको उत्पातका हर्कत जायज छैनन् । त्यो सूचीलाई आफू निकटका पत्रकारमार्फत बाहिर ल्याएर गगन र शेखरले पार्टीभित्रको गोप्यता तोडेका छन् ।

गगन र शेखरलाई आयोगमा बुझाइएको सूचीका बारेमा राम्रोसँग जानकारी छ । महामन्त्रीलाई यो कुराको जानकारी हुँदैन भन्नु उचित पनि छैन । गगनले आफ्ना ससुरालाई सूचीमा राख्न सभापति देउवासँग बैठकमा झगडा नै गरेका थिए ।

बुझाइएको बन्द सूचीमा गगन र शेखरका करीव २५/३० जना नेताहरूको नाम परेको कुरा सभापति देउवाविरुद्ध सडक आन्दोलनको नेतृत्व गरिरहेका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताएका छन् ।

सभापति देउवाले आफ्नो जीवनको अन्त्यतिर कांग्रेसलाई सिध्याउन लाग्यो वा नेताहरूलाई सक्न लाग्यो भनेर आरोप लगाउनु जायज छैन । कांग्रेसले जित्यो भने मात्रै देउवा नेता हुने हुन् । कांग्रेसलाई हराएर वा पार्टीका नेताहरूलाई सिध्याएर देउवा नेता हुन सक्दैनन् । देउवाले कांग्रेसलाई बहुमतका साथ जिताउने तयारी गरेका बेला पार्टीभित्र विवाद मिलाउन हरसम्भव प्रयासहरू गरिरहेका छन् । देउवाको प्रयासलाई सबैले सहयोग र साथ दिनुपर्छ । गठबन्धनका कारण धेरै नेताहरूले टिकट नपाउन सक्छन् । टिकट पाएन भन्दैमा आन्दोलन गरेर कांग्रेस कमजोर पार्ने अधिकार कसैलाई पनि छैन ।

बुधबार बिहान गगन निकट मानिने एउटा एफएमसँगको अन्तर्वार्तामा घिमिरेले बन्द सूचीमा गगन र शेखर निकटका २५/३० जना नेताको नाम परेको बताएका छन् । करीव १ सय जना समानुपातिकको सूचीमा गगन र शेखरका २५/३० जना नेताको नाम राखेर देउवाले अन्याय गरेकै हुन् त ? सबैले ध्यान दिनुपर्छ ।

गगन र शेखरले १४औँ महाधिवेशनमा भागबण्डा नमाग्ने भनेर महाधिवेशन प्रतिनिधिसँग हात जोडेर मत मागेर भोट पाएका थिए । महामन्त्रीमा गगनले त झन् धेरै लोकप्रिय मत पाएका थिए । सभापतिमा शेखरले पनि राम्रो मत पाएर पराजित भएका थिए ।
सभापति देउवाले गगन र शेखरलाई पन्छाएका छैनन् । बरु उनीहरूका मान्छेको नाम राखेर न्याय गरेका छन् ।

सभापति देउवा धेरै बोल्दैनन् । काम गरेर देखाउन चाहन्छन् । धेरै नबोल्ने र पतर÷पतर देउवा प्रतिक्रिया दिएर नहिँड्ने बानीलाई कमजोरीका रुपमा लिएर गगन र शेखर समूहले निर्वाचनको मुखमा बद्नाम गरेर कसलाई फाइदा पु¥याउन खोजेको हो प्रश्न उठेको छ ।

बुधबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा एमालेका नेता महेश बस्नेतले शेखरसँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच चुनावमा तालमेल गरेर जाने विषयमा वार्ताहरू भइरहेको बताएका छन् । नेता बस्नेतले भने जस्तै गगन र शेखर कतै एमाले र ओलीको उक्साहटमा कांग्रेसलाई सिध्याउने हर्कत गरिरहेका त छैनन् ? प्रश्न उठेको छ ।

उम्मेदवर छनोटको विवाद साम्य हुनुको सट्टा पार्टीका दुई पक्षबीच आमनेसामनेको अवस्था सिर्जना हुन थालेको छ । गगन र शेखरका कारण कांग्रेसको आन्तरिक विवाद चर्किदै जाँदा पार्टी विभाजनसम्मको हल्ला चल्न थालेको छ ।

मंगलबार प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले पार्टी नेता शेखरसँग पटक/पटक सम्वाद गर्न खोजेका थिए । तर, शेखरले देउवासँग कुरौ गर्न मानेका छैनन् ।

सभापति देउवाले तीन–चार पटक सम्वादका लागि फोन सम्पर्क गरेका थिए । शेखरले देउवाको फोन रिसिभ नगरेको एक नेताले बताएका छन् ।

आफ्नो फोन रिसिभ नगरेपछि देउवाले शेखरसँग नजिकका व्यक्तिमार्फत प्रयास गरेका छन् । शेखरले ६०/४० भन्दा आफू तलमाथि नगर्ने बताएको ती नेताले बताएका छन् ।

एमालेका अध्यक्ष ओलीले शेखरलाई ८०/८५ गरेर जाऔँ भन्ने प्रस्ताव गरेको चर्चा कांग्रेस र एमालेभित्र छ । शेखरले तत्काल उक्त प्रस्तावले पार्टी नै विभाजनतर्फ जानेभन्दै सो प्रस्ताव अस्वीकार गरेका छन् । गगन र शेखर समूहको दोस्रो पुस्ताले भने आवश्यक परेमा पार्टी फुटेर भएपनि जानुपर्ने प्रस्ताव राखेका छन् ।

Published : Wednesday, 2022 September 28, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया