ठेला पसलमा गृहमन्त्री खाण, सडक पेटीका साना व्यापारीहरूले दिए धन्यावाद

भैरहवा । गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सडक छेउटाउका सामान्य पसलमा खानेकुरा खाएर साना पसलका व्यापारीहरूको हौसला बढाएका छन् ।

सोमबार गृह मन्त्री खाणले भैरहवामा शुभकामना आदानप्रदान कार्यक्रमपछि सडक छेउछाउका सामान्य ठेला पसलहरूमा गएर साना व्यापारीहरूसंग शुभकामना साटासाट गरेका हुन् । खाणले ठेला व्यापारी मनोज हलुवाईले ठेलामा राखेको अण्डाको परिकार (अमलेट) बनाउन लगाएर खाएको निजी सचिवालयले जनाएको छ ।

गृहमन्त्री एवम् कांग्रेस नेता खाणले ठेला व्यापारीको अण्डाको परिकार किनेर खाइदिएपछि साना व्यापारीहरू खुसी भएका छन् । गृहमन्त्री खाण आफ्नो सानो ठेला पसलमा देखेपछि उनीहरू खुसी हुनुका साथै तस्बिरहरू खिचेका थिए ।

गृहमन्त्री खाणले ठेला अगाडि गाडी रोकेर ठेला व्यापारीसँग अण्डाको के–के भनेर सोधेका थिए । खाणले अण्डाको परिकारका बारेमा सोधेपछि ठेला व्यापारीले आश्चर्य व्यक्त गरेका थिए । ती साना व्यापारीले गृहमन्त्री खाण आफ्नै पसल अगाडि देखेपछि खुसी भएका छन् ।

ठेला व्यापारी मनोज हलुवाईले गृहमन्त्री खाण आफूले सोँचभन्दा निकै सरल र सहज आफूले पाएको पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् । ठेला व्यापारी हलुवाईले भने, ‘मैले मेरो ठेला अगाडि आएर गृहमन्त्री बालकृष्ण खाणज्यूले अण्डाको खानेकुरा र परिकारहरू के–के पाइन्छ भनेर सोध्नुभयो । म त अचम्म परेँ । गृहमन्त्रीलाई आफ्नै ठेलाको पसलमा देख्दा सुरुमा मैले पत्याइन । सपना जस्तो लागेको थियो ।’

गृहमन्त्री खाणले नजिकै रहेको सामान्य पान पसलमा गएर पान व्यापारिक बृजेषसंग व्यापार कस्तो चलेको छ ? भनेर सोधेका थिए । फलफूल व्यापारीसँग पनि व्यापार व्यवसायका विषयमा खाणले जानकारी लिएका थिए ।

गृहमन्त्री खाणले ठेलामा गरिने व्यापारलाई गुणस्तर बनाउन पनि विभिन्न तहका व्यापारीहरूलाई आग्रह गरेका छन् ।
घटस्थापनाको अबसरमा शुभकामना साटासाट गर्दै गृहमन्त्री खाणले भने, ‘व्यापारको सिजन चलेको छ । चाडपर्व नजिकिँदै गर्दा नेपाली उत्पादन र नेपाली बजारलाई पहिलो प्राथमिकता दिएर नेपालमै बजार (किनमेल) गर्न सबैलाई आग्रह छ ।’

ठेला र साना व्यापारीहरूले गृहमन्त्री खाणलाई आफूहरूको पसलमा अचानक आएको भन्दै धन्यावाद दिएका छन् ।

Published : Tuesday, 2022 September 27, 8:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया