समानुपातिक व्यवस्था खारेज गर्न सभापति बानियाँको प्रस्ताव, कांग्रेसमा स्वागत, ४० सांसद थपौं

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले समानुपातिक सांसदको व्यवस्था खारेज गर्न प्रस्ताव गरेका छन् ।

काठमाडौंमा शनिबार कांग्रेसको प्रथम नागार्जुन नगर सम्मेलनमा बानियाँले समानुपातिक व्यवस्थालाई खारेज गरेर राष्ट्रिय सभामा ४० सिट थप्न प्रस्ताव गरेका छन् । उनले संविधान संशोधन गरेर समानुपातिक खारेज गर्दा मात्रै संघीयताको महत्व बढ्ने बताए ।

‘संघीयता भनेको पहिचान हो, प्रतिस्पर्धा हो । प्रदेश चाहिँदैन भन्ने राजावादी र ओलीको पार्टी प्रदेश चाहिँदैन भन्दै हिँडेका छन्’, उनले भने, ‘संघीयता बोझिलो होइन । ओझिलो बनाउनुपर्छ ।’

‘संघीयतालाई गहकिलो बनाउनको लागि यो समानुपातिक प्रक्रियाभित्र ७ वटा प्रदेशको २२० र प्रतिनिधि सभाको ११० अब संविधान संशोधन गरेर ३३० जनाको समानुपातिक खारेज गर्नुपर्छ भन्ने मान्यतामा म छु’, सभापति बानियाँले भनेका छन् ।

‘प्रतिनिधि सभा र प्रदेश सभाको ३३० समानुपातिक खारेज गर्ने र राष्ट्रिय सभा ५९ जनाको छ । त्यसमा बरु ४० थपेर ९९ सय बनाउने’, उनले भने, ‘त्यसमा समावेशी, समानुपातिक, सबै वर्ग, सबैको प्रतिनिधित्व गराउर्ने ।’

‘प्रतिनिधि सभा र प्रदेश सभामा समानुपतिक प्रक्रिया खारेज गर्ने । यसले के हुन्छ भने व्यवस्था बलियो हुन्छ । त्यसपछि संघीयताप्रति मानिसहरूको आकर्षण बढ्छ’, बानियाँले भने, ‘भूगोल बुझेका साथीहरू प्रक्रियामा जान्छन् ।’

उनले भने, ‘निर्वाचनमा एकजना साथीले टिकट पाउँछन् । हिजो वडा सदस्य खोजेकालाई अहिले समानुपातिक चहिएको छ । वडाध्यक्ष खोजेकालाई पनि समानुपातिक चाहिएको छ । आफ्नो मापन आफै गर्नुपर्छ । राजनीतिमा म कहाँसम्म पुग्ने हो । सबै नेता हुँदैनन् । सबै नेतृत्वमा जाँदैनन् ।’

उनले सरकार बनाउन गठबन्धन गरेको बताउँदै त्यो गठबन्धनलाई बचाउने दायित्व सबैको रहेको बताएका छन् । बानियाँले आवश्यक्ता र औचित्यताका आधारमा गठबन्धन गरेको बताए । उनले चुनावी तालमेल गरेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरिएको बताए ।

सभापति बानियाँले भने, ‘गठबन्धन आवश्यक्ता र औचित्यता होइन अनिर्वाय भएको छ । केपी ओलीको अधिनायकवादको अन्त्यका लागि गठबन्धन आवश्यक थियो । अहिले अनिर्वाय भएको छ ।’

ओलीले प्रचण्डलाई जेलमा पु¥याउन खोजेको बताएका बानियाँले शान्तिप्रक्रियालाई टुंगामा पुर्‍याउन गठबन्धन बनेको बताए । ‘प्रदेश चाहिँदैन भन्नेहरू राजावादी र ओलीको पार्टी हो’, उनले भने, ‘संघीयताका कारण भारतमा विकास भएको छ ।’

Published : Saturday, 2022 September 24, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया