प्रहरीलाई भारतले १००० करोड अनुदानमा प्रतिष्ठान बनाइदिने, गृहमन्त्री र राजदूतद्वारा भूमिपूजन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माण गर्न भूमिपूजन गरेका छन् ।

शुक्रबार काभ्रेपलाञ्चोकमा खाण र श्रीवास्तवले प्रतिष्ठानको भवनसहितका संरचना निर्माणका लागि संयुक्त रुपमा भूमिपूजन गरेका हुन् । सो कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहसहितका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भएको थियो । नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

भारत सरकारको नेरु. १००० करोड अनुदानमा निर्माण हुने परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनाहरूमध्ये कै एक हो ।

यो कार्यक्रम भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको एक हिस्साको रुपमा रहेको छ ।

परियोजनाको कुल क्षेत्रफल करिब ८४ एकड रहेकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफल हुने भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरि प्रतिष्ठानका भवनहरूको निर्माण गरिनेछ । दिगो विकास मापदण्डअनुरुप निर्माण हुने परियोजना वातावरण एवम् उर्जामैत्री हुनेछ ।

आधुनिक सेवा सुविधासहित निर्माण हुने संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार प्रदान गर्नेछ ।

परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारीअन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यान्वयन टोलीले सबैको साथ र सहयोगमा निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न गर्ने बता । उनले भारत र नेपालबीचको घनिष्ठसम्बन्धको अर्को महत्वपूर्ण कोशेढुङ्गाको रुपमा रहेको प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताएका छन् ।

भारत र नेपालबीच बहुआयमिक तथा बहुपक्षीय विकास साझेदारी रहेको भन्दै उनले जसले दुई देशका जनताबीच रहेको निकटतालाई दर्शाएको बताएका छन् ।

परियोजनाको कार्यान्वयनले नेपाल सरकारको प्रयासमा भारत सरकारको सदैव सहयोग रहने राजदूत श्रीवास्तवले बताएका छन् ।

Published : Friday, 2022 September 23, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया