काठमाडौंकै घटनामा २४ घण्टासम्म अपराधी पत्ता लागेन, हेडक्वाटरले बनायो छानविन समिति

काठमाडौं । नेपाल प्रहरीको मुख्यालयले लाल मोहम्मदको हत्या घटनाको छानविन गर्न ५ सदस्यीय कार्यदल बनाएको छ ।
मंगलबार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका ५ सदस्यीय समिति बनाइएको हो ।

सोमबार राति अज्ञात समूहको गोली प्रहारबाट काठमाडौंको गोठाटारमा हत्या भएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

एसएसपी भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।

समितिमा प्रहरी उपरीक्षक (एसपी) दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् ।
समितिमा साइबर ब्यूरोका एक जना अधिकृतलाई पनि राखिएको छ ।

एसपी मैनाली जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत छन् । चन्द उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो ।

लाल मोहम्मदलाई मेड इन यूएस लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ ।

उनको हत्यामा संलग्न तीन जना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशीपारि गेष्ट हाउसमा बसेको प्रारम्भीक अनुसन्धानका क्रममा खुलेको छ ।

महानगरीय प्रहरीको प्रमुखमा एआईजी रविन्द्रबहादुर धानुक छन् । काठमाडौं जिल्ला प्रहरी परिसरको प्रमुखमा एसएसपी भरतबहादुर बोहरा छन् ।

एआईजी धानुक र एसएसपी बोहराले गोली काण्ड भएको २४ घण्टा हुँदा पनि अपराधी पक्राउ गर्न नसकेको भनेर आलोचना भएको छ ।

गोली हानेर हत्या भएको घटनालाई विभिन्न अन्तर्राष्ट्रिय घटनासँग जोडेर समाचार आएका बेला छानविन समिति बनेको छ ।

Published : Tuesday, 2022 September 20, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया