वारी भात खाने, पारी गएर ढुंगा हान्नेहरू पनि संविधान मान्न बाध्य भए : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद रामहरि खतिवडाले नेपालमा राष्ट्रियतामाथि प्रहार हुँदा सबै मिलेर त्यसलाई जोगाउने काम गरेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘जब राष्ट्रियतामाथि प्रहार हुन्छ, त्यसलाई जागाउनका लागि सबैले आ–आफ्नो सेक्टरबाट बचाउने प्रयास गर्नुहुन्छ ।’

‘देशको राष्ट्रियता, एकता, अखण्डता, मातृभूमिको मायाप्रतिको माया हामीलाई अरुभन्दा धेरै लाग्छ’, उनले भने, ‘हामीले संविधान निर्माण ग¥यौं । संविधान सबैको बनायौं । महिला, दलित, मधेश, जनजातिको प्रतिनिधित्व गर्‍यौं ।’

उनले भने, ‘संविधान जारी हुँदा, नेपालमा वारी खाना खाएर पारी गएर ढुंगा हान्ने काम पनि भयो । वारी खाना खाएर पारी पुगेर ढुंगा हान्नेहरू पनि अहिले संविधान मान्न बाध्य भएका छन् । यो महत्वपूर्ण कुरा हो ।’

कांग्रेस नेता खतिवडाले नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिने काम भएको भन्दै गुनासो पोखेका छन् ।

उनले आफूहरू नेपालको एक ईञ्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताएका छन् ।

उनले भने, ‘प्रत्येक नेपाली सिमानामा काँडेतार भएर उभिनुपर्छ । संसारमा आज बर्लिनको पर्खाल ढलेको छ ।’

‘काँडेतार हाम्रो मनमनमा र भावनामा जाग्नुपर्छ । यो चलचित्रले पनि यही भाव बोलेको छ’, उनले भने, ‘हामी काँडेतारभन्दा तिखो छौं र हौं भन्नुपर्छ । यो भावनाको विकास गर्नुपर्छ ।’

राष्ट्रियताको मामिलामा तत्कालीन प्रधानमन्त्री किसुनजीले भारत भ्रमण गर्ने बेलामा पनि आफ्नो अडान स्पष्ट रुपमा राखेको उनले स्मरण गरेका छन् ।

उनले नेपाली भूमि रक्षाको लागि ‘काँडेतार’ नामक फिल्मलले उत्प्रेरणा जगाउन सफल होस भन्ने कामना पनि गरेका छन् ।

‘नेपाली भूमिको रक्षार्थ सबै काँडेतार भएर उभिन सकौं । म यही शुभकामना दिन चाहन्छु’, कांग्रेस नेता खतिवडाले भनेका छन् ।

Published : Wednesday, 2022 August 10, 5:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया