गृहमन्त्री र चिनियाँ राजदूतबीच भेट, चीनद्वारा निर्वाचनको स्वागत

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छिन् ।

शुक्रबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको बुझिएको छ ।

राजदूत यान्छीसँग गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन् ।

‘नेपाल एक चीन नीतिको पक्षमा छ’, गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’

खाणले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए ।

अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ छ ।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपदको व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

सरकारले बिहीबारमात्रै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताएकी छिन् ।

जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताएकी छिन् ।

यान्छीले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको पनि अधिवेशन हुन लागेको जानकारी गृहमन्त्री खाणलाई गराएकी छिन् ।

यसैबीच, परराष्ट्रमन्त्री डा.नारायण खड्काले साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर परराष्ट्र मन्त्री डा.खड्काको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।

बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ ।

भ्रमणका बेला डा.खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् ।

Published : Friday, 2022 August 5, 6:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया