प्रदीप अधिकारीको हचुवाको निर्णयले भत्ता पचाउन सिरक ओडेर सुत्न थाले कर्मचारीहरू

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काम गरेको देखाउन हचुवाको भरमा निर्णय गर्दा राज्यको लाखौं रुपियाँ नोक्सानी भएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरक उड्डयनमन्त्री प्रेमबहादुर आले र आसेपासेलाई खुसी बनाएर प्राधिकरण छिरेका अधिकारीले राज्यलाई फाइदाभन्दा पनि नोक्सानीहरू गराएको आरोप छ ।

अधिकारीले काम देखाउने बहानामा भैरहवा विमानस्थललाई २४सैं घण्टा सञ्चालनमा ल्याउने निर्णय गरेका छन् । सो निर्णयले गर्दा सरकारलाई मासिक करीव २० लाख रुपियाँ ओभर टाईमका नाममा खर्च भइरहेको छ ।

भैरहवा विमानस्थलमा हप्तामा जम्मा तीन वटा अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । जजिरा एयरले तीन वटा उडान गर्दै आएको छ । आन्तरिकतर्फ सबै उडान राति ८ बजे समाप्त हुन्छ । प्राधिकरणका महानिर्देशक अधिकारीले सबै कुराको जानकारी लिएर मात्रै निर्णय गर्नुपर्नेमा गलत निर्णय गर्दा राज्यलाई नोक्सानी भइरहेको छ ।

प्राधिकरणका कर्मचारीहरू ओभर टाईमको पैसा पचाउन रातिभरि विमानस्थलमा एसी र पंखा लगाएर सिक ओडेर सुतेर बिताउने गरेको चर्चा छ ।

उच्च तहका हाकिमहरूले ओभर टाईमको नाममा महिनामा ८० देखि ९० हजारसम्म बुझ्ने गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) २१ घण्टा सञ्चालनमा छ । टीआईएमा कर्मचारीहरूले ओभर टाईमको नाममा मासिक करीव ५० लाखसम्म सिध्याउने गरेको आरोप छ ।

प्राधिकरणका महानिर्देशक अधिकारी आफूलाई शक्तिशाली र काम गरेको देखाउन हचुवाको भरमा निर्णयहरू गरेर राज्यलाई करोडौं नोक्सानी गरिरहेका छन् ।

अधिकारी नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आयोजना प्रमुख थिए । अधिकारीको असक्षमताका कारण पोखरा विमानस्थलको डाँडो कटिङ अहिले आएर गर्नुपरेको छ ।

भैरहवा विमानस्थलको महाप्रबन्धक गोविन्द दाहाल छन् । त्रिभुवन विमानस्थलको महाप्रवन्धक प्रेमनाथ ठाकुर छन् । यस विषयमा महानिर्देशक अधिकारीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Monday, 2022 August 1, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया