अहँकारी एमालेले तिलोत्तमामा औकात देखायो, उप–मेयर चौधरीले मर्यादा भुलेर ‘तँ’ भनिन्

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ ।

९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि पुनः स्थगित भएको हो । नगरप्रमुख रामकृष्ण खाणले नगरसभाको बैठकमा गणपुरक संख्या नपुगेपछि आफूले सहि गरेर स्थगित गरिएको बताए । खाणले नगरसभाको बैठक कलेज र मजदुर गए जस्तो नभएको बताए ।

उनले भने, ‘हामी विधिभन्दा बाहिर जान मिल्दैन । प्रक्रिया र विधिअनुसार चलेको छ । नगरप्रमुखले सहि गरेपछि पछाडिबाट आएर सहि गर्छुभन्न पाइँदैन ।’

नगरप्रमुख खाणले आफूहरू पनि जनप्रतिनिधि भएको भन्दै कसैले पनि दम्भ देखाउन नहुने बताएका छन् ।

बैठक स्थगितपछि एमालेबाट निर्वाचित जनप्रतिनिधि नाराबाजी गरेका छन् । उनीहरूले नाराबाजी र अभद्र व्यवहार प्रदर्शन गरेका हुन् ।

उप–मेयर जागेश्वरी चौधरीले सभाहल नजिक आफू निकटका जनप्रतिनिधि जम्मा गरेर कांग्रेस मुर्दावाद ! कांग्रेसका हाकिम मुर्दावाद ! राजीनामा दे ! लगायतका नारा लगाएका हुन् । राजनीतिक पूर्वाग्रही भएर उप–मेयर र उनको समूहले नारावाजी गरेको प्रत्यक्षदर्शीले आरोप लगाएका छन् । एमालेले जनताको पक्षमा हुने कार्यक्रम र योजनामा सहयोग गर्नुको साटो विभिन्न बखेडा गरेर उत्पात मच्चाइरहेको छ ।

उप–मेयर चौधरीले हाकिमलाई ‘तँ’ नै भनेर गाली गरेपछि कांग्रेसबाट निर्वाचित वडाध्यक्षले आपत्ति जनाएका छन् । उप–मेयर चौधरीले आफ्नो पदीय मर्यादा भुलेर औकातमा उत्रिएपछि विरोध भएको छ ।

बैठक स्थगित भए लगत्तै नगर प्रमुख खाण र प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली कार्यालय जानका लागि निस्किने क्रममा एमालेले घेराबन्दी गरेर नाराबाजी गरेपछि स्थिति तनावग्रस्त भएको थियो । उनीहरू सुरक्षित हुनका लागि हलमा पुगेका थिए ।
हलमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू पुगेर हुलदंगा गरेपछि प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।

यसअघि असार ३१ गते नगरसभाको बजेट पास गर्न बसेको बैठकमा उप–मेयर चौधरीका कारण बैठक बस्न २ घण्टा ढिलाई भएको र गणपुरक संख्या नपुगेपछि बैठक स्थगित भएको हो ।

तिलोत्तमाको कार्यपालिकाले गठन गर्ने विभिन्न उप–समितिमा एमालेले बहुमतको दम्भ देखाउँदै एकलौटी गर्न खोजेपछि शुरू देखिनै विवाद उत्पादन भएको हो ।

नगरप्रमुख खाणले समितिहरू सहमतिका आधारमा समावेशी र सबैलाई समेटेर बनाउनुपर्ने बताएका छन् । आइतबार स्थगित बैठक सोमबार बस्नेछ ।

Published : Sunday, 2022 July 17, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया