कास्की– २ मा हारको बदला कांग्रेसले आज विद्यासँग लिने, शानदार जित पक्का

काठमाडौं । प्रतिनिधि सभामा रिक्त रहेको उप–सभामुख पदको निर्वाचनमा नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित हुने पक्का छ ।

कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले उप–सभामुखमा भुसालाई उम्मेदवार बनाएको छ । भुसालको जित सुनिश्चित सरह छ ।
एमालेले विद्या भट्टराईलाई उप–सभामुखको पदमा उम्मेदवार बनाएको छ ।

उप–सभामुख छान्न शुक्रबार दिउँसो ३ बजे बस्ने संसद बैठकमा मतदान प्रक्रिया हुने कार्यसूची छ ।

कांग्रेस सचेतकसमेत रहेकी भुसालले माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छिन् ।

भुसाल यसअघि पनि उप–सभामुख उम्मेदवार भएर पराजित भएकी थिइन् । २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन् ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईले उम्मेदवारी दर्ता गराएकी छिन् ।

भट्टराई प्रतिनिधि सभाको उप–निर्वाचनमा कास्की–२ बाट निर्वाचित एमालेकी सांसद हुन् । भट्टराई एमालेका सांसद स्व.रविन्द्र अधिकारीकी पत्नी हुन् । अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा मृत्यु भएपछि उप–निर्वाचनमा भट्टराईले कांग्रेसका उम्मेदवारलाई हराएर निर्वाचित भएकी थिइन् । कांग्रेसले भट्टराईलाई उप–सभामुखको निर्वाचनमा हराएर कास्की– २ को उप–निर्वाचनको बदला लिने तयारी गरेको छ ।

संसदमा प्रष्ट बहुमत भएकाले सत्तारूढ पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार भुसाल उप–सभामुख हुने लगभग निश्चित छ ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन् ।

सत्ता गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् ।

एमालेको पक्षमा ९८ जना मात्रै सांसद छन् । उप–सभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसदको बहुमत १ सय ३६ हुन्छ । सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् ।

१३ सांसद भएको लोकतान्त्रिक समाजवादीले कसलाई मत दिन भन्नेबारे टुंगो लगाएको छैन ।

तत्कालीन उप–सभामुख शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि संसदले उप–सभामुख पाएको छैन ।
संविधानमा सभामुख र उप–सभामुख फरक दल र लिंगको हुनुपर्ने प्रावधान छ ।

एमालेको अहँकार र घमण्डले गर्दा एक्लिएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टी विभाजन गर्नेदेखि आफ्ना विरोधीहरूलाई ठेगान लगाउँदा ओली एक्लिएका हुन् ।

Published : Friday, 2022 July 15, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया