प्रधानमन्त्रीले अराजक मन्त्रीलाई साथ दिएपछि माधव नेपाललाई झट्का, रामहरिले गरे ठूलो खुलासा

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले पदीय मर्यादा बचाउन नसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बर्खास्त गर्नुपर्नेमा कुटाइ खाएर अन्यायमा परेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षबाट निलम्बन गर्ने निर्णय गरेको मन्त्री आलेले आफू निकटका केही अनलाइन सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

आलेले केही दिन अगाडि निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर कुटिपट गर्नेदेखि अश्लील शब्दमा गालीगलौज गरेर मन्त्री पदको खिल्ली उडाएका थिए । आलेलाई बर्खास्त गर्नुपर्ने माग उठेका बेला सरकारले अधिकारीलाई निलम्बन गरेर संसार हँसाएको छ ।

व्यक्तिगत झगडाको बदला लिन मन्त्री आलेले अधिकारीलाई निलम्बन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए । प्रधानमन्त्री देउवाले आलेको विवादास्पद चरित्र र प्रस्तावलाई तत्कालका लागि रोक्नुपर्नेमा सदर गरिदिएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका मन्त्री आलेले अधिकारीलाई कार्यकारी अध्यक्ष बनाउँदा आर्थिक लाभ लिएको आरोप छ ।

अधिकारी एकीकृत समाजवादीका नेता झलनाथ खनाल निकट मानिन्छन् ।

आलेले आफूले अह्राएको गैरकानूनी काम गर्न नमानेको भन्दै अधिकारीलाई कार्यकक्षमै बोलाएर अश्लील गालीगलौजसहित हातपात गरेको अडियो सार्वजनिक भएको थियो ।

आलेसहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई एकीकृत समाजवादीले फिर्ता बोलाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीहरूलाई शपथ गराउनभन्दै प्रधानमन्त्री देउवालाई सूची दिइसकेका छन् ।

देउवाले एकीकृत समाजवादीका नयाँ मन्त्रीहरूलाई शपथ नगराउँदा अराजक र अश्लील बोल्ने आले जस्ता मन्त्रीहरूको दण्डहीनता बढेको छ ।

यसैबीच, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले मन्त्री आलेलाई बर्खास्त गर्नुपर्नेमा अधिकारीलाई निलम्बन गरेकोमा आश्चर्य व्यक्त गरेका छन् ।

‘पर्यटन मन्त्रालयमा कुटपिट र अश्लील शब्दको प्रयोग भएको समाचार आयो’, खतिवडाले भने, ‘अधिकारीकि आले ? दुबै आले र अधिकारी ठीक होइनन् । तर, हट्ने पालो अगाडि अधिकारीको पो परेछ !’

‘पार्टी बलियोकि मन्त्री बलियो ? माधव नेपाल ज्यू ? माधवको सिफारिस दोस्रो आलेको पहिलो हुने भो’, खतिवडाले भनेका छन् ।

Published : Monday, 2022 June 20, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया