एसपीपीमा एमालेको राष्ट्रवाद नाङ्गिएपछि प्रधानमन्त्रीका नाममा बबण्डर मच्चायो

काठमाडौं । एमालेका सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा अनुपस्थित भएको कुरालाई लिएर बबण्डर मच्चाएका छन् ।

व्यस्तताका कारण प्रधानमन्त्री देउवा समितिमा उपस्थित हुन सकेका थिएनन् । एमालेकी सांसद पवित्रा निरौला सभापति रहेको समिति प्रधानमन्त्री देउवालाई बोलाएको थियो ।

देउवासँग अमेरिकासँगको स्टेट पाटर्नसीप प्रोग्राम (एसपीपी)का विषयमा जानकारी लिने भनिएको थियो । एसपीपीका विषयमा एमाले नेतृत्वको सरकारले अमेरिकासँग माग गरेको यसअघि समाचार आइसकेका छन् । फस्ने डरले एमालेले यो विषयलाई बङ्ग्याएर लफडा गर्दै आएको छ ।

देउवा बैठकमा नआएको विषयमा समितिमा सबैभन्दा धेरै एमालेका सांसद भीमबहादुर रावल बम्किए । रावलले भने, ‘देशको प्रधानमन्त्री संसदीय समितिप्रति उत्तरदायी हुनुहुन्छ होला भन्ने लागेको थियो । प्रधानमन्त्री गम्भीर बिरामी, विदेश भ्रमण वा अन्य आकस्मिक समस्या आएको भए जानकारी गराउनुपर्‍यो ।’

‘संसदीय मर्यादा र लोकतन्त्रको रक्षाका लागि मैले पनि उहाँका पक्षमा हस्ताक्षर गरेको हो’, रावलले भने, ‘अकारण अनुपस्थित हुने कुराका लागि समितिले खेद प्रस्ताव पारित गर्नुपर्छ ।’

माओवादीका सांसद सुदन किराँतीले बुढा मरेभन्दा पनि काल पल्क्यो भन्ने अवस्था आएको भन्दै सांकेतिक रुपमा भनाइ राखेका थिए ।

संस्थाहरुलाई लोकतान्त्रिक बनाउनुपर्ने बताउँदै किराँतीले प्रधानमन्त्री उपस्थित नहुँदा संशय र त्रास सिर्जना भएको बताए ।

माओवादीका सांसद राम कार्कीले आफू आएर स्पष्ट रुपमा कुरा राख्दा राम्रो हुने भन्दै नभ्याउँदा कुनै साथीलाई पठाउनुपर्ने बताए ।

एमालेकी सांसद सुजिता शाक्यले अन्तिम समयमा आएर नआउने जानकारी गराउनुले प्रधानमन्त्री देउवाले संसदीय मर्यादा कायम गर्न नसकेको रुपमा बुझ्नुपर्ने बताइन् ।

नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भूसालले प्रधानमन्त्री देउवाको अनुपस्थितिलाई लिएर भइरहेका टीकाटिप्पणी स्वाभाविक रुपमा लिइनन् ।

प्रधानमन्त्री देउवाको राजनीतिक चरित्र हत्या गर्न कुतर्क गरिएको भन्दै उनले असन्तुष्टि जनाइन् ।

‘छलफल विषयवस्तु केन्द्रित भएन । व्यक्तिकेन्द्रित भयो । कसैको राजनीतिक जीवनमाथि प्रश्न गर्ने काम भयो’, उनले भनिन्, ‘कुतर्क गरिन थाल्यो । कुतर्क नै गर्ने हो भने हामी पनि ३०÷४० वर्षदेखिका खोजेर ल्याउँछौं । निजी बहस यहाँ होइन, बाहिर गरौं ।’

एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपी सामान्य विषय नभएको बताए । उनले भने, ‘आफूलाई मन पर्ने मात्रै सुतर्क, मन नपर्ने कुतर्क ?’

एमालेका सांसद ईश्वर पोखरेलले प्रधानमन्त्री आउने भनिएकाले त्यही गम्भीरताका साथ उपस्थित भएको बताउँदै पूर्वसूचना बेगर अनुपस्थित हुने कुरा खेदजनक नै रहेको बताए ।

कांग्रेसका सांसद दीव्य राजभण्डारीले आफूले प्रधानमन्त्री देउवालाई संसदीय समितिमा बोलाउने कुरामै फरक मत राखेको बताए ।

परराष्ट्रका विषयमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले जवाफ दिइसककेको बताउँदै समितिले निर्देशन दिइसकेकाले थप स्पष्टीकरण जरुरी नभएको राजभण्डारीले बताए ।

कांग्रेसका सांसद राजभण्डारीले एसपीपीका विषयमा छलफल गर्ने भनेर प्रधानमन्त्रीलाई लेखिएको पत्रमा उल्लेख नै नभएको बताएका छन् ।

उनले परराष्ट्र नीति कार्यान्वयन र आसन्न अमेरिका भ्रमण मात्रै पत्रमा उल्लेख गरिएको बताए ।

Published : Sunday, 2022 June 19, 10:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया