मोहन बस्नेतको रणनीतिसामु अग्नि सापकोटा फेल, कांग्रेस पास, माओवादीलाई एमालेबाट धोका

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई हराएर नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस)मा कब्जा जमाएको छ ।

आइतबार भएको जिससको निर्वाचनमा कांग्रेसले संयोजकसहित सबै पदमा जित हातपारेको छ । कांग्रेसका संयोजकका उम्मेदवार बालकृष्ण श्रेष्ठ शानदार मतसहित निर्वाचित भएका छन् । उप–संयोजकमा एकीकृत समाजवादीका तर्फबाट पदमनाथ नेपालसहितको टिम विजयी भएपछि एमाले र माओवादीलाई तनाब भएको छ ।

जिससको निर्वाचनमा कांग्रेसको १२ मत थियो । जितका लागि १३ मत आवश्यक पर्दथ्यो ।

कांग्रेसले नेकपा (एकीकृत समाजवादी)सँग मिलेर एमाले र माओवादीको गठबन्धनलाई धुलो चटाइदिएको छ । एकीकृत समाजवादीको १ मत थियो ।

जिससाको निर्वाचनमा श्रेष्ठको प्यानल नै निर्वाचित भएपछि एमाले र माओवादी चकित परेका छन् । कांग्रेस र एकीकृत समाजवादीले ९ सिट नै जितेका छन् ।

एमाले र माओवादीको ११ मत थियो । एमाले–माओवादीका जिससका संयोजकका उम्मेदवार गणेश बिकले ११ मतमध्ये १० मत मात्र पाए । बिकको १ मत खाली थियो ।

एमाले–माओवादीका सदस्यका उम्मेदवारहरूले ३, ५ र ७ मत मात्र पाएका थिए । एमाले र माओवादीले एकले अर्कालाई अविश्वास गरेका कारण मत नै दिएनन् । सोही कारण सबै मत एमाले–माओवादीका उम्मेदवारहरूलाई परेन ।

सिन्धुपाल्चोकमा एमालेले माओवादीसँग गठबन्धन गरे पनि जिससको निर्वाचनले एमालेले माओवादीको अस्तित्व स्वीकार नगरेको देखिएको छ ।

कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमाले र माओवादीलाई रणनैतिक रुपमा हराएर धक्का दिएका छन् । नेता बस्नेतको रणनीतिसामु माओवादी नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाको योजना भताभुङ्ग भएको छ ।

सापकोटालाई गृहजिल्ला सिन्धुपाल्चोकमा ठूलो धक्का लागेको छ । एमालेले पनि सापकोटालाई विश्वास नगरेर सबक सिकाएको छ ।

Published : Sunday, 2022 June 12, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया