काठमाडौंमा उत्पात मच्चाउने टोले गुण्डाहरू पक्राउ, अब तोरीको फूल देख्ने

काठमाडौं । महानगरीय प्रहरी वृत्त बुढानिकलण्ठले टोले गुण्डाहरू अनिल र सरोज गिरीको ‘ग्याङ’लाई पक्राउ गरेको छ ।

ललितपुरको पाटन घर भएका अनिलको ग्याङले काठमाडौंको गल्फुटारमा रहेको रेष्टुरेन्टमा निःशुल्क खान खोज्ने, रेष्टुरेन्टका कर्मचारीलाई कुटपिट गर्ने, अपशब्द बोल्ने, ग्राहकहरूलाई कुटपिट गर्ने जस्ता हर्कत गरेपछि बुढानिलकण्ठ प्रहरीले शुक्रबार पक्राउ गरेको हो । केही टोले गुण्डाहरू भागेका छन् । भागेकाहरूलाई प्रहरीले खोजी शुरु गरेको जनाएको छ ।

अनिलसहितका केही युवाहरूलाई गुण्डागर्दीको अभियोगमा पक्राउ गरेको बुढानिलकण्ठ प्रहरी प्रभागका प्रहरी निरीक्षक अनिलसिंह ठकुरीले बताएका छन् । पक्राउ परेका व्यक्तिहरूका विषयमा अनुसन्धान भइरहेकाले थप बताउन नमिल्ने उनले बताए । यद्यपि, निरीक्षक ठकुरीले अपराध गर्नेहरूलाई कुनै पनि छुट नदिएर कारबाही हुने बताएका छन् ।

काठमाडौं प्रहरी परिषर टेकुका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले काठमाडौंमा अपराध गर्नेलाई कानूनअनुसारको हदैसम्मको कारबाही हुने चेतावनी दिए । ‘अपराध गर्नेलाई कारबाही हुन्छ’, उनले भने, ‘गण्डागर्दीका नाममा सर्वसाधारणलाई दुःख दिनेमाथि प्रहरीले कुनै मोलेजा हेर्ने छैन ।’

सुनिल र अनिलसँग बेलाबेला आउने युवाहरूको समूहले गल्फुटारका होटेल र रेष्टुरेन्टमा आतंक मच्चाएपछि पीडितहरूको उजुरीको आधारमा प्रहरीले अप्रेशन शुरु गरेको हो । पक्राउ परेका अनिल र सरोजको ग्याङले धेरै ठाउँमा आतंक मच्चाएको थियो । यो ग्याङले अति नै गरेपछि प्रहरीले पक्राउ गरेर कारबाही थालेको छ ।

अनिल र सरोजको ग्याङले प्रहरी, नेता, खेलकुदका केही व्यक्तिहरूको नाम लिएर रेष्टुरेन्टमा निःशुल्क खाने धन्धा चलाउँदै आएको आरोप छ । यो समूहलाई युवती मिलाउन गरेको आरोप पनि छ ।

पक्राउ परेका अनिल र सरोजलाई प्रहरीले कारबाही गर्छ वा दवावमा छाड्छ हेर्न बाँकी छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह आईजीपी बनेर आएकै समयमा गल्फुटार क्षेत्रमा टोले गुण्डाहरूको आतंक मच्चिएको छ ।

आतंक मच्चाउने टोले गुण्डाहरूको यो समूह कथित गुण्डा नाइके दावा लामा, चक्रे मिलनको समूहसँग निकट मानिन्छ ।

सरोजले आफूलाई मुयोथाइ एसोसिएसनको उपाध्यक्ष बताउने गरेका छन् । यो संस्थाको उपाध्यक्ष हुन् भने पनि सरोज जस्ता टोले गण्डाहरूका हर्कतले एसोसिएसनको नाक काटिएको छ ।

Published : Saturday, 2022 June 11, 10:48 am

फेसबुकबाट तपाईको प्रतिक्रिया