कांग्रेसका केन्द्रीय सदस्य गिरीलाई कोमल ओलीका उम्मेदवारले मेयरमा हराइदिए

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद गेहेन्द्र गिरी तुलसीपुर उप–महानगरपालिकाको मेयर पदमा पराजित भएका छन् ।

५ दलीय गठबन्धनका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले भोट दिँदा पनि गिरी मेयरमा पराजित भएका छन् ।

दाङ कांग्रेसको पूर्वसभापति समेत रहेका गिरी २०७४ सालको निर्वाचनमा पनि मेयरमा पराजित भएका थिए । सधैँ पद खोज्ने र युवाहरूलाई अवसरबाट बञ्चित गराउँदै आएका गिरीलाई जिताउन सबै नेता कार्यकर्ताले इमान्दारिताका साथ काम गर्दा पनि लज्जास्पद हार ब्यहोर्नु परेको छ ।

गिरीलाई मेयरमा जिताउन केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरी, लुम्बिनी प्रदेशका मन्त्री डिल्लीबहादुर चौधरी, नगर सभापति सुरेश हमाल, जिल्ला सभापति शंकर डाँगीसहितका नेताहरू लागेका थिए । तैपनि गिरीले मेयरमा जित्न सकेनन् ।
कांग्रेसका ७० गिरीलाई एमालेका ५५ वर्षीय टीकाराम खड्काले हराइदिएका छन् ।

उप–मेयरमा पनि एमालेकी ५० वर्षीया स्यानी चौधरी निर्वाचित भएकी छिन् । एकीकृत समाजवादीका ५८ वर्षीय जोगबहादुर राना मगर पराजित भएका छन् ।

एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन केन्द्रीय सदस्य एवम् पूर्वसांसद कोमल ओलीले ठूलो मेहनत गरेकी थिइन् ।

एमालेका महासचिव शंकर पोखरेलको गृहजिल्ला भए पनि तुलसीपुरमा ओली लोकप्रिय छिन् ।

Published : Wednesday, 2022 May 25, 10:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया