गौमुखीमा वडाध्यक्ष जित्नेवित्तिकै जनमोर्चाका मल्ल ध्रुबे हात्ती बनेर कांग्रेस नेतामाथि आक्रमण

गौमुखी । प्यूठान जिल्लामा राष्ट्रिय जनमोर्चाका नवनिर्वाचित वडाध्यक्ष बरुणध्वज मल्ल नेतृत्वको अराजक समूहको नेपाली कांग्रेसका नेतालाई सांघातिक आक्रमण गरेको छ ।

गौमुखी गाउँपालिकाको वडा नं. ५ खुङमा राष्ट्रिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित मल्लको समूहले बुधबार राति करीव ११ बजे कांग्रेसका नेता राजकुमार विष्टलाई कुटपिट गरेको हो । जनमोर्चाको कुटाइबाट घाइते भएका विष्टको बुटवलमा उपचार भइरहेको छ ।

विष्ट नेपाली कांग्रेस गौमुखी गाउँपालिका कार्यसमितिका सदस्य हुन् ।

मल्ल वडाध्यक्षमा निर्वाचित भएपछि विजयी र्‍यालीमा सहभागी भएर फर्कने क्रममा विष्टलाई कुटपिट गरेर घाइते बनाएको प्रत्यक्षदर्शी नारायण न्यौपानेले बताएका छन् ।

मदिरा सेवन गरेर अराजक शैलीमा सडकमा हिँडिरहेका जनमोर्चाका वडाध्यक्षमा निर्वाचित मल्लले आफू वडाध्यक्ष भएको र आफ्नो शासन लागू हुनेभन्दै जथाभावी बोलेका थिए ।

नवनिर्वाचित वडाध्यक्ष बरुणध्वज मल्ल, हरि मल्ल, प्रदीप मल्ल, जगत मल्लको समूहले विष्टमाथि कुटपिट गरेको थियो ।

विष्टलाई कुटपिट गर्ने राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष मल्लसहितको समूहलाई कारबाही गर्न प्यूठान कांग्रेसले माग गरेको छ ।

Published : Thursday, 2022 May 19, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया