कम्युनिस्टको विवाद मिलाउन बेइजिङले काठमाडौं पठायो ठूला मान्छेहरू

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई चिरा परेर राजनीति उथलपुथल भएका बेला चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उप–मन्त्री गुओ येचौको नेतृत्वमा आइतबार चिनियाँ टोली काठमाडौंमा आउनेछ । येचौको टोलीले नेकपाका नेताहरूसँग भेट गर्नेछ । नेकपाका दुबै पक्षका नेताहरूलाई येचौले बेइजिङको सन्देश सुनाउनेछन् । चीनले संसद पुनःस्थापना गरेर दुबै कम्युनिस्टहरू मिलेर जाउन् भन्ने चाहन्छ ।

चिनियाँ टोलीले नेकपा विभाजनका विषयमा चासो राख्ने स्रोतले जनाएको छ । चीनले संसद विघटन भएकोमा असन्तुष्टि जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा नेताहरूलाई भेटेर संसद विघटन भएकोमा चिन्ता जनाइसकेकी छिन् । उनले नेकपालाई मिल्न दवाव दिँदै आएकी छिन् । राजदूत यान्छीले प्रचण्ड र केपी ओली नेतृत्वको नेकपालाई मिलेर सरकार बनाउन पनि सुझाव दिएको भनेर बाहिर चर्चा हुन थालेको छ ।

नेकपाको करिब दुई तिहाई बहुमतको सरकारलाई चीनले साथ दिँदै आएको थियो । ओली सरकारलाई चीनले साथ दिए पनि रसुवा र कोदारी भन्सार नाका खोल्न मानेको छैन ।

नेपालको कम्युनिस्ट सरकारलाई चीनले आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउन खोजेको थियो । संसदलाई ओलीले भङ्ग गरिदिएपछि चीन तनाबमा परेको छ ।

पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक–पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना हुन्छ भन्ने आँकलन बेइजिङले गरेको थिएन ।

बेइजिङले आइतबार काठमाडौं पठाउन लागेको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेकपाको विवाद मिलाउन पहल गर्ने नेकपाका एक नेताले बताएका छन् ।

Published : Saturday, 2020 December 26, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया