धरानका लिम्वुको काठमाडौंमा ठगी धन्दा, कोरियन काण्ड मच्चाउँदा पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंले कोरियन भाषा परीक्षामा नक्कली परीक्षार्थी बनेर ठगी धन्दा चलाउँदै आएका एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंमा कोरियन भाषाको प्रशिक्षकको रुपमा काम गर्ने धरान घर भई हाल काठमाडौं बस्दै आएका उत्तममान लिम्वुले विभिन्न समयमा कोरियन भाषाको ईपीएस परीक्षामा सहभागी हुन आएका विद्यार्थीसँग ठगी धन्दा चलाउँदै आएको उजुरी र आरोपमा पक्राउ गरिएको महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लिम्वुको समूहले विद्यार्थीलाई प्रभाव तथा प्रलोभनमा पारी विद्यार्थीको प्रवेश पत्रमा आफ्नो फोटो राखी परीक्षा दिई उत्तीर्ण हुने व्यक्तिसँग प्रतिव्यक्ति सात लाखसम्म लिने गरेको महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।

‘विद्यार्थीलाई कोरिया पठाउने कार्यमा वर्षौदेखि संलग्न रहँदै आएको भन्ने सूचना यस महाशाखामा प्राप्त भई अनुसन्धान गरिरहेकोमा उत्तममान लिम्वुलाई पुस ७ गते काठमाडौंको कालोपुलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

५१ वर्षीय लिम्वु धरान उप–महानगरपालिका– १९ स्थायी घर भई हाल काठमाडौंको कालोपुलमा बस्दै आएका थिए ।

Published : Wednesday, 2020 December 23, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया