ओलीले ‘लात’ हानेपछि कांग्रेसको शरणमा पुगे कम्युनिस्टहरू

काठमाडौं । नेपाली कांग्रेससहितका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरू सम्मिलिन सर्वदलीय बैठकले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक भनेर टिप्पणी गरेका छन् ।

कांग्रेसको पार्टी मुख्यालय सानेपामा सोमबार बसेको सर्वदलीय बैठकले प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमको राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

कांग्रेसको आमन्त्रणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टीका नेताहरूको बैठक बसेर ओलीको कार्यको विरोध गरेको छ ।

‘प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिक र अलोकतान्त्रिक भएको तीनै दलको समान धारणा छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यको विरोध गर्न तीनै दल सहमत भएका छन् ।’

‘तीन दलले आगामी कार्यक्रम तय गर्न आ–आफ्ना दलका केन्द्रीय कार्यसमितिमा छलफल र निर्णय गर्ने समझदारी भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, डा. मीनेन्द्र रिजाल र रमेश लेखकको उपस्थिति रहेको थियो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षामान पुन र कृष्णभक्त पोखरेलको बैठकमा उपस्थिति रहेको थियो ।

जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ला, उमाकान्त झा र जितेन्द्र सोनालको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।

ओलीले संसद विघटन गरेपछि नेकपाकै नेताहरू सानेपा पुगेर कांग्रेससँग सहयोगको अपील गरेका हुन् ।

Published : Monday, 2020 December 21, 10:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया