ओलीको कार्यक्रम बिथोल्न प्रचण्डद्वारा ‘भाई’ परिचालन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेश संगठन कमिटी, काठमाडौंमा केन्द्रको विवाद देखिएको छ ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली र दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद देखिएका बेला बागमती प्रदेश कमिटीमा पनि विवाद देखिएको हो ।

बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेलले पुस ७ गतेका लागि बैठक बोलाएपछि ईञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले बैठक बिथोल्न कुनै गतिविधि गरेका हुन् ।

बामगती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश सदस्यको जरुरी मिटिङ पुस ७ गतेका सचिव पोखरेलले काठमाडौंको तीनकुनेस्थित रोयल बैंक्वेटमा ११ बजेका लागि बोलाएका छन् । सचिव पोखरेल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिन्छन् ।

ईञ्चार्ज शाक्य वरिष्ठ नेता नेपाल र अध्यक्ष नारायण दाहाल दोस्रो वरीयताका अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । नारायण दाहाल नाताले प्रचण्डका भाई समेत हुन् ।

शाक्य र दाहालले सोमबार संयुक्त रुपमा सूचना जारी गरेर भनेका छन्, ‘बागमती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश सदस्यको जरुरी मिटिङ पुस ७ गतेका लागि रोयल बैंक्वेट, तिनकुनेमा ११ बजे बस्नेत भनि प्रदेश सचिव आनन्द पोखरेलको नाममा सूचना सम्प्रेषण भएको कुरा जानकारीमा आएकोले प्रदेशमा बैठक बस्ने कुनै पनि छलफल भएको छैन ।’

‘सोही दिन पार्टीको स्थायी कमिटीको निर्णयरअनुसार केन्द्रीय कमिटीको बैठक डाकिएको कुरा सर्वविदितै छ’, शाक्य र दाहालले भनेका छन् ।

‘आगामी दिनहरूमा प्रदेशका सबै विषयहरूको आधिकारिक जानकारी र सूचना प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालको नामबाट मात्र आउने कुराको जानकारी गराउँदछौँ’, सूचनामा उल्लेख छ ।

Published : Monday, 2020 December 21, 4:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया