पन्ध्र दिनपछि ओलीलाई दोब्बर तनाब हुने, कांग्रेसले र्‍याखर्‍याख पार्ने

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्रैबाट ठूलो असहयोग भइरहेका बेला प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदको अधिवेशन माग गरेको छ ।

कांग्रेसले संसदको बैठकका लागि सरकारलाई हदैसम्मको दवाव दिने तयारीमा छ । बुधबार बसेको पदाधिकारी बैठकमा पनि कांग्रेसले संसदको बैठकबाट सरकारलाई दवाव दिने रणनीति बनाएको छ ।

मंसिर २९ गते देशभरि सरकारविरुद्ध प्रदर्शन गरेको कांग्रेसले संसदमा भ्रष्टाचार, कोरोना नियन्त्रण गर्न नसकेको, उपचारमा भएको लापरबाही, मूल्य वृद्धि लगायतका विषयलाई लिएर आलोचनामा उत्रिनेछ ।

यता, नेकपाभित्रै पनि सरकारलाई संसद बैठकमा ठूलो असहयोग हुने संकेत देखिएको छ । नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीलाई ठूलै सहयोग गर्ने योजना बनाएका छन् । उनीहरूले बुधबार शीतल निवासमा देखाएको गतिविधिले पनि ओलीलाई आगामी दिन सहज छैनन् भन्ने देखाएको छ ।

नेकपाभित्र कुरा मिल्न सकेको छैन । विवादहरू मिलाउने प्रयास पनि भएका छन् । तर, कुरा मिल्ने कुनै संकेत छैन । विवादले चरम विन्दु लिए पनि पार्टी विभाजन हुने सम्भावना तत्कालका लागि टरेको चर्चा नेताहरूले गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदको बैठकमा प्रमुख विपक्षी दल कांग्रेस र आफ्नै दल नेकपाको सामना गर्नुपर्नेछ । ओलीले कांग्रेसको चित्त बुझाउन हरसम्भव प्रयास गर्नेछन् । कांग्रेसले चित्त पनि बुझाउन सक्ला । सोहीअनुसार ओलीले कांग्रेसको दवाव सामना त गर्लान् । आफ्नै दलभित्रको दवाव कसरी सामना गर्ने हुन् धेरैले महत्वका साथ हेरेका छन् ।

सबैभन्दा ठूलो समस्या ओलीलाई आफ्नै पार्टीबाट छ । १५ दिनभित्र बस्नुपर्ने बाध्यता रहेको संसदको बैठक अगाडि नेकपाभित्रको विवाद मिलाएनन् भने प्रधानमन्त्री पदमाथि ठूलो संकट पर्ने चर्चा पनि हुन थालेको छ ।

Published : Thursday, 2020 December 17, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया