कांग्रेसको निर्णयले ओलीलाई झन् तनाब, अपार माया पाएको भन्दै जनतालाई धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारद्वारा ल्याइएको अध्यादेशको विरोध गर्दै फिर्ता लिन माग गरेको छ ।

बुढानिलकण्डस्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पदाधिकारी र प्रभावशाली नेताहरूको बैठकले ओली सरकारद्वारा ल्याइएको अध्यादेशको विरोध गरेको हो ।

सह–महामन्त्री डा.प्रकाशशरण महतले अध्यादेश संविधान र लोकतान्त्रिक मूल्य, मान्यता विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

ओलीले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका थिए । अध्यादेशको कांग्रेसका साथै ओलीको दल नेकपाले पनि विरोध गर्दै आएको छ ।

कांग्रेसले संसदको अधिवेशन छिटो बोलाउन सरकारलाई दवाव दिएको छ । ‘मुलुक र जनताको जल्दाबल्दा समस्याहरूमा छलफल हुन सकिरहेको छैन । जनताले कोरोना महामारी, मूल्य वृद्धि भ्रष्टाचारलगायतबाट समस्या भोग्नु परेको छ’, उनले भने, ‘संसदको अधिवेशन छिटो बोलाएर संसदमार्फत जनताका समस्या समाधान गर्नुपर्छ ।’

कांग्रेसले मंसिर २९ गते देशभरि भएको सरकार विरोधी कार्यक्रममा जनताको अपार साथ पाएको भन्दै धन्यावाद दिएको छ ।

कांग्रेसले आगामी दिनमा कम्युनिस्ट सरकार र ओलीको अधिनायकवादविरुद्ध हुने आन्दोलनमा साथ दिन कार्यकर्ताहरूसँग अनुरोध गर्ने निर्णय गरेको सह–महामन्त्री डा.महतले बताए ।

Published : Wednesday, 2020 December 16, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया