भारतको विरोध गरेर ‘राष्ट्रवादी’ बनेका ओलीले किन बोलाए भारतकै हाइलेबलका यी मान्छे ?

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभागका प्रमुख विजय चौथाइवाले तीन दिने नेपाल भ्रमण सकेर फिर्ता भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा काठमाडौं आएका चौथाइवालेले प्रधानमन्त्री केपी ओलीसहितका शीर्ष नेताहरूलाई भेटेका थिए ।

नेपाल–भारतबीचको सम्बन्धमा चिसोपना आएको भनेर टिकाटिप्पणी भएका बेला भाजपाका शक्तिशाली नेता नेपाल भ्रमणमा आएका हुन् ।

भाजपा विदेश विभागका प्रमुख चौथाइवाले भैरवाहको सुनौली नाका हुँदै नेपाल आएका थिए ।

तीन दिनको काठमाडौं बसाइँका क्रममा चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, जनता सामाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, नेकपा संसदीय दलका उप–नेता सुवासचन्द्र नेम्वाङलाई भेटेका थिए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर चौथाइवाले काठमाडौं आएको जनाइएको छ ।

चौथाइवाले स्वदेश फिर्ता भएसँगै प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भनेर चर्चा शुरु भएको छ । ओलीको भारत भ्रमणका विषयमा भने केही भनिएको छैन ।

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलले ओलीलाई भेटेपछि भारतबाट लगातार उच्चस्तरका व्यक्तिहरू नेपाल भ्रमणमा आएका छन् ।

भारतीय स्थल सेनाध्यक्ष र चौथाइवालेको भ्रमणले पनि दुई देशबीचको बिग्रिएको सम्बन्धलाई सुधार गर्न भूमिका खेलेको नेकपाका एक नेताले बताएका छन् ।

तीन दिन काठमाडौंमा बस्दा पनि भाजपाका नेता चौथाइवालेले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलाई भेटेनन् ।

भाजपाको विदेश विभागको प्रमुख समेत रहेका चौथाइवालेले दाहाल, नेपाल र डा.भट्टराईलाई नभेट्नुलाई रहस्याका साथ हेरिएको छ ।

Published : Sunday, 2020 December 13, 9:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया