प्रवक्ता श्रेष्ठको ‘हर्कत’माथि प्रश्न उठेपछि कम्युनिस्टहरूलाई नाक लुकाउनै गाह्रो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठको व्यक्तिगत गतिविधि र चरित्रलाई लिएर गम्भीर प्रश्न उठेका छन् ।

शुक्रबार दिनभरि प्रवक्ता श्रेष्ठ र सुसन कर्माचार्यबीचको कुरालाई लिएर सामाजिक सञ्जालहरू नानाभाँती कुराहरू लेखिएका हुन् । आफ्नै स्वकीय सचिवको लेनदेनको कुरा मिलाउन श्रेष्ठले देखाएको सक्रियतामाथि पनि सामाजिक सञ्जालहरू रंगिएका छन् ।

नेकपा केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनसँगै लेनदेनको विषयमा प्रवक्ता श्रेष्ठ मुछिएपछि विभिन्न समाचार र कुराहरू उठेका हुन् ।

जलविद्युत् कम्पनीको सेयर विवाद मिलाउने विषयमा श्रेष्ठ र लामाबीचको छलफलको अडियो र भिडियो लामाको परिवारले सार्वजनिक गरेपछि प्रवक्ता श्रेष्ठमाथि प्रश्न उठेका छन् ।

भिडियो तथा अडियो क्लिपमा दुई करोड रुपियाँ लेनदेनको विषयमा छलफल भएको देखिएको छ ।

श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी ईन्द्रमायाको नाम पनि उल्लेख छ ।

भिडियोमा कर्माचार्य र लामाबीचको सेयर विवाद मिलाउन श्रेष्ठले सुझाव दिएका छन् । प्रवक्ता श्रेष्ठले यसमा आफ्नो कुनै संग्लनता नरहेको र उनीहरूकै आग्रहमा विवाद मिलाउन सहजीकरण मात्रै गरिदिएको बताएका छन् ।

श्रेष्ठले यसमा कुनै ढंगले आर्थिक लेनदेन वा योजनासँग सम्बन्धित नरहेको सञ्चारमाध्यमहरूलाई प्रतिक्रियाहरू दिएका छन् ।

याम्लादिङ् हाईड्रोपावर योजना र कमानजीबीचमा समस्या आएपछि केही गर्न सकिन्छ कि भनेर आफूले मिलाइदिन खोजेको श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘त्यसमा मेरो कुनै सम्बन्ध छैन । त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन र नेपालको राजनीतिमा भ्रष्टाचार र भ्रष्टीकरणविरुद्ध मैले जो संघर्ष गर्दै आइरहेको छु, त्यसलाई कमजोर बनाउन नियोजित प्रहारमात्रै हो ।’

स्रोतका अनुसार विवादको विषय बनेको याम्बालिङ हाईड्रोपावर लामा आफैंले दर्ता गरेका थिए । कर्माचार्यको टिमले हाइड्रोको दुई करोड ५० लाखको सेयर किनेको थियो ।

पछि करिब तीन करोड बैंकको ऋण चुक्ता गर्नुपर्ने समस्या देखिएपछि याम्बालिङ हाइड्रो कम्पनी जमानी बसेर बैंकबाट दुई करोड ऋण लिइएको र त्यही ऋण मिलान गर्ने विषयमा कर्माचार्य र लामाबीच विवाद भएको थियो ।

विवाद नटुंगिएपछि लामा नेकपा अध्यक्ष पुष्पकमल दाहालसम्म पुगेका थिए । लामाको कोरोना संक्रमणबाट शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहान निधन भएको थियो । कोरोना भाइरस संक्रमणका कारण १६ दिनदेखि अस्पतालमा उपचाररत हुँदा उनले यस विषयमा फेसबुकमा समेत लेखेका थिए ।

सामाजिक सञ्जालमा एकजना पत्रकारले लेखेका छन्, ‘कानून र मानवअधिकारको आँखाबाट हेर्दा प्रत्येक नागरिककोे ब्यक्तिगत जीवन छ । ब्यक्तिगत स्वतन्त्रतामाथि कसैले खलल पुर्‍याउन पाउँदैन ।’

‘त्यतिकै सत्य अर्को पनि छ, सार्वजनिक पदमा बसेको कुनै पनि पात्रको जीवन ब्यक्तिगत हुन्न’, ती पत्रकारले लेखेका छन्, ‘त्यसैले उ पारदर्शी हुनुपर्छ । तस्विर हेर्नुस, तथ्य आफैं खुट्याउनुस् ।

उहाँहरूको तस्बिरमाथि म बबुरोलाई दोष नदिनुहोस् ।’ ती पत्रकारले प्रवक्ता श्रेष्ठ र स्वकीय सचिव कमचार्यका तस्बिरहरू पनि फेसबुकमा पोस्ट गरेका छन् ।

आफूहरूमाथि लागेको आरोपका विषयमा सुसन र ईन्द्रमायाले केही प्रतिक्रिया दिएका छैनन् । यस विषयमा प्रतिक्रया लिन सुसन र ईन्द्रमायासँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Published : Friday, 2020 December 11, 11:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया