विरोध प्रदर्शनको तीन अगाडि शोकमा कांग्रेस, शोकलाई शक्तिमा बदल्ने

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना पूर्व केन्द्रीय सदस्य श्यामलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक मनाउने निर्णय गरेको छ ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार शोक वक्तव्य जारी गरेर श्रेष्ठप्रति श्रद्धाञ्जलि दिन र शोक मनाउन तीन दिनसम्म केन्द्रीय कार्यालयसहित सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय भएको जनाएका छन् ।

मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने पौडेलले बताए ।

मंसिर २८ गते आइतबारका केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय कांग्रेसले गरेको छ ।

स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने कांग्रेसले जनाएको छ ।

श्रेष्ठको स्वर्गारोहणको १३औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय भएको मुख्यसचिव पौडेलले बताएका छन् ।

मंसिर २९ गतेका लागि पूर्व निर्धारित ७७ जिल्लामा हुने विरोध प्रदर्शनको आन्तरिक तयारीसँग सम्बन्धित कार्यहरू भने सूचारु रहने कांग्रेसका मुख्यसचिव पौडेलले जनाएका छन् ।

पार्टीका महाधिवेशन प्रतिनिधि एवं प्रजातन्त्र सेनानी ८० वर्षीय श्रेष्ठको मस्तिष्कमा रक्तश्राव भई उपचारका क्रममा शुक्रबार काठमाडौं मोडेल अस्पतालमा निधन भएको थियो ।

स्व.श्रेष्ठ पार्टीको एघारौं महाधिवेशन २०६२ मा गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।

स्व.श्रेष्ठ वि.सं. २०१८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका थिए ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ भएका आन्दोलन, संघर्षका क्रममा उनी ११ वर्षभन्दा बढी समयसम्म जेल जीवन विताएका थिए ।

३० वर्ष लामो प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रहेर बहुदलीय व्यवस्थाको स्थापनाका निमित्त विशिष्ट योगदान गर्ने र त्यस आन्दोलनमा सक्रिय भएका कारण पञ्चायती व्यवस्थाको दमन र प्रतिशोधमा परेका राजनीतिक पीडितहरूलाई सम्मान गर्नका लागि नेपाल सरकारबाट सन्त नेता कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठन भएको राजनीतिक पीडित समितिको उनी सदस्य थिए ।

स्व.श्रेष्ठ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका तर्फबाट उम्मेदवार भएका थिए ।

उनी २०५६ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको सभापति भएका थिए ।
स्व.श्रेष्ठ राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका थिए ।

वि.सं. २०७२ मा उनलाई वीपी कोइराला स्मृति ट्रष्टद्वारा वीपी सेनानी सम्मानबाट विभुषित गरिएको थियो । स्व.श्रेष्ठको एक छोरा र तीन छोरी छन् ।

लोकतन्त्रका लागि आफूलाई उत्सर्ग गर्न पनि पछि नपर्ने अत्यन्त सरल र शालिन व्यक्तित्व श्यामलाल श्रेष्ठको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गरेको छ ।

उनको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनमा कांग्रेसले समवेदना प्रकट गरेको छ ।

कांग्रेसले तीन दिनपछि सरकारको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको निधनको शोकलाई कांग्रेसले शक्तिमा बदलेर अधिनायकवादी कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।

Published : Friday, 2020 December 11, 11:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया