कम्युनिस्ट सरकार विरोधी आन्दोलनमा सहभागी हुन कांग्रेसको अपील

काठमाडौं । कम्युनिस्ट सरकारविरुद्ध सडक आन्दोलनको घोषणा गरेको प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गतेको कार्यक्रममा सहभागिता जनाउन अपील गरेको छ ।

काठमाडौंको बुढानिकलण्ठमा बिहीबार बसेको पदाधिकारी र केही केन्द्रीय सदस्यहरूको बैठकले २९ गतेको सरकारविरुद्धको कार्यक्रममा सहभागी हुन आह्वान गरेको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा कांग्रेसले २९ गते ७७ जिल्लामा प्रदर्शन गर्दै छ ।

कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले मंसिर २९ गतेको विरोध कार्यक्रममा सहभागी हुन पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई आग्रह गरिएको जानकारी दिए । उनले जनताको काम गर्नुपर्नेभन्दा पनि सरकार आफ्ना नेताहरूको व्यवस्थापनमा लागेको आरोप लगाए ।

डा.महतले कांग्रेसले सडक आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । उनले भनेका छन्, ‘२९ गतेको प्रदर्शन प्रारम्भिक मात्रै हो । कार्यक्रमहरू जारी रहन्छन् ।’

सह–महामन्त्री डा.महतले मोरङमा शिक्षकको हत्या भएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाहीको माग गरिएको बताए ।

कांग्रेसले हत्यारालाई कडा कारबाहीको माग पनि गरेको छ । व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरिएको छ ।

मंसिर २३ गते मोरङमा एक शिक्षकको हत्या भएको थियो । हत्याको जिम्मेवारी प्रतिबन्धित विप्लव समूहले लिइसकेको छ ।

Published : Thursday, 2020 December 10, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया